राममणि पोखरेल
सायद तिमी मन्त्रालयमा बसेर
टेबलमा छरिएका फाइलमा
आँखा कुदाउँदै थियौ
त्यहीँ समयमा
उत्तरबाट दक्षिण कञ्चन पानी
लिँदै पछाडि नफर्की
निरन्तर बगिरहेछन्
प्रकृतिका उपहार
हाम्रा ती सानाठुला नदीलाई
झोला या ब्यागमा खुम्च्याएर
लेटरप्याडमा स्ट्याम्प लगाउँदै
जाली योजना बनाउँदै
गाउँबस्ती ठग्न
एउटा राष्ट्रघाती समूह
लोभिएर जाली योजनामा
निरन्तर दौडेको छ
तिमीलाई पत्तै छैन कि
उसका दूतहरु देशका धेरै भागमा
छरिएर, जनता ठग्ने योजना बुन्दै छन्
धरतीसँग जोडिएका मित्रसँग मात्र होइन
अकासे मित्रसँग पनि
नदीनालाका गोप्य फाइल सुम्पँदै छन्
अरबौँ रकमको सपना देखाएर
तिम्रा मन्त्रालयका फाइलहरु
समानताका लागि कामिरहेका छन्
तिम्रा धारिला हतियारले
घाँसको तिरिन पनि काट्ने छैन
यो राष्ट्रको गरिमा सम्झ ।