धीरकुमार श्रेष्ठ

मैले मेरो भगवान्लाई
खोजेको आजदेखि होइन
सदियौँ सदियौँदेखि हो
र कहाँ कहाँ खोजिनँ !
मन्दिरमा खोजेँ, मस्जिदमा खोजेँ
गिर्जाघर र गुरूद्वारामा खोजेँ
मूर्तिमा खोजेँ, शून्यमा खोजेँ
र प्रतीमामा खोजेँ
आराधना, प्रार्थना र भक्तिमा खोजेँ
तर आजसम्म भेटेको छैनँ
अहँ ! भेट्दै भेटेको छैनँ
कतै भेटेको छैनँ ।

अन्ततः
मैले खोजेको भगवान्
मसँगै रहेछ मभित्रै रहेछ
सदाकालदेखि अनन्त अनन्तका लागि
त्यो मेरो भगवान्ले
मलाई कठिन र अन्धकारपूर्ण क्षणमा
उज्यालो पुल्ठो बालिदिँदो रहेछ
भिरको डिलबाट हुर्याइँदा
फेदीमा नदी बनी बगिरहेको हुँदो रहेछ
मैले थाहै पाइनँ पाउँदै पाइनँ
र जब थाहा पाएँ
मेरो भगवान् मबाट फुत्त निस्केर
आहतको आह ! मा सुत्त पस्यो
र म
मभित्रको मेरै भगवान्लाई खोज्न भौँतारिइरहेछु
आजसम्म र अनन्त अनन्तसम्म ।

Facebook Comments Box

Similar Posts