लक्ष्मीप्रसाद रिजाल
(अर्जुनधारा, ८ झापा)
मैले सिरानमा थोत्रे जुत्ता राखी पूजा गरेँ
त्यो जुत्ताभित्र देवत्व भावको सिर्जना गरेँ
उच्च आसनमा बस्ने जुत्ता नै छक्क पर्दछ
तैपनि किन आसक्त यो मान्छे भक्त बन्दछ
जुत्ता ज्यादै पुरानो हो खुट्टालाई अयोग्य छ
भित्र बाहिर फाटेको दुर्गन्ध अनि त्याज्य छ
अनुयोग गरी हामी जुत्तामा प्राण भर्दछौँ
अभियोगीहरुमाथि सर्पझैँ विष छर्दछौँ
फाटेको जीर्ण जुत्ता हो मक्किएको र तुच्छ छ
तथापि मोह यो कस्तो श्रीरामतुल्य उच्च छ
राम राम थिए होला खराउ पूजियो त्यहाँ
राम छैन यहाँ राम तथापि ढोगियो यहाँ
माउजङ् साहेबको कोटभन्दा अत्यन्त त्याज्य छ ।
किन रोगन लाएर चम्काउँछु अज्ञात छ
जुत्ताका चित्तको चेत क्षुब्ध राक्षसतुल्य छ
आराध्य देवता ठान्ने मेरो चेत अतुल्य छ
जुत्ताभित्र बसेका छन् बिच्छी र बारूलाहरु
जालो बुनेर रम्दै छन् विषालु माकुराहरु
थोरैको जिन्दगी थोत्रे जुत्ता सुङ्दै कहाँ पुग्यो
धेरैको जिन्दगी जुत्ता जप्दाजप्दै सडिसक्यो
यस्तो जुत्ता पूजा गर्न सधैँ आतुर बन्दछु
सिक्सिको माथमा बोक्दै बितेका पल गन्दछु
जुत्ता यो काम लाग्दैन भन्ने थाहा छ के गरुँ ?
झिकेर भतुवा कुत्तालाई हानुँ कि वा मरुँ ?
दुर्बासा अथवा रानी शतीको अभिशाापले
जुताको भक्तिमा डुब्नुपरेछ कुन पापले
दुर्भाग्य बिम्ब यो थोत्रे जुत्ता मिल्काइदिन्छु म
भन्छु तैपनि जुत्ताकै कविता लेखी हिँड्छु म ।