रामचन्द्र दाहाल

राता पिरा गाला हजुर क्या पोसिलो !
ठाँटिलो शरीरको हजुर क्या जोसिलो
खाने तरिका सन्तुलित हजुरको,
पचाउन सक्ने खुबी छ हजुरको ।

दसी क्यै नराखी सितो छाड्नु हुन्न ।
कति खानुहुन्छ प्रमाण भेटिँदैन ।
उडाउने गुडाउने पचाउने भुँडी हो,
प्रमाण नष्ट गर्ने हजुरकै खुबी हो ।

अस्मेल भुँडी रहस्य त्यहाँ छ
छन् काण्ड भन्छन् पचेको पच्यै छ ।
खाने छ बानी बसेको बस्यै छ
निर्दाेषी रङ घसेको घस्यै छ ।

मन्तव्य राम्रा सुनेका सुन्यै छन्
हजुरजस्तै अर्काे चुनेका चुन्यै छन्
पार्टी प्रशासन न्यायमा पहुँच छ
दोष शुद्ध गर्ने हजुरमा गहुँत छ ।

भित्र र बाहिर गरेको गर्यै छ
सधैँ त्यो धोक्रो भरेको भर्यै  छ
सुन्दर छ कदको जिउडाल राम्रो
यो कर्म देख्नु अहो भाग्य हाम्रो !

Facebook Comments Box

Similar Posts