• सञ्जय सुमन

रामप्रित राम असभ्य छ
असभ्य – प्राकृतिक हो ।
शब्दपिच्छे गाली निस्किन्छ
उसको मुखबाट ।
गाली – विद्रोह हो ।

हो, ऊ पनि गाउँमै बस्छ
तर समाजविहीन छ ।
उसको घर सधैँ ओसिलो किन रहन्छ,
थाहा छ ? ऊ सुँक्कसुँक्क रोएको
पुग्दैन कसैको कानसम्म ।
न पुग्छ तिम्रो घमाइलो
अट्टहासका स्वरहरु उसको कानमा ।
उसको घर गाउँमै छ – पर – धेरै पर ।

तिम्रो सभ्यताले उसलाई असभ्य बनाइरह्यो – भनिरह्यो।
तिम्रो संस्कारले उसलाई पर धकेलिरह्यो – अछुत भनिरह्यो ।
तिमी कुन संस्कार खोज्छौ !
ऊ हिँड्छ भनेर तिमीले बारीको बाटो छेकेको हैन !
तिम्रो कुवाको पानी खान्छ भनेर पर्खाल लाएको हैन !
तिम्रो पुर्खालाई आगो दिनेलाई
तिमीले आगो नदिँदा रातभरि उसको पेट पोलेको हैन !

उसलाई सभ्य बन्न पढ्न दियौ ?
तिम्रा छोरीहरुले समाचखेवा खेलिरहँदा
उसकी छोरी पर उभिएर हेरिरहिन् – बोलायौ सँगै खेल भनेर !
ल अब खोज त सभ्यता !
मलाई उसको गाली सभ्य लाग्छ ।
गन्हाउने जिउ सभ्य लाग्छ ।
जुम्रा परेका कपाल सभ्य लाग्छ ।
पहेँला गन्हाउने दाँत सभ्य लाग्छ ।

यी सब विद्रोह हुन्
र विद्रोह सभ्य हुन्छ ।

Facebook Comments Box

Similar Posts