• मोहन दुवाल

धोका दिन खोज्नेहरु बग्रेल्ती छन्; हेरिरहेको छु
षड्यन्त्र मनमा सजाएर अरुलाई दुःख दिनेहरु देखिरहेको छु
आफ्नो स्वार्थले ग्रस्त भई मान्छेलाई डस्न चाहनेहरु खोजिरहेको छु
जताततै अरुलाई दुःख दिन सोच्नेहरु समाजमा रहेको देखिरहेको छु ।

हेर्न पनि बल चाहिँदो रहेछ; मेरो बलमा ईर्ष्या पसेको छ
देख्न पनि मन बलियो हुनुपर्ने रहेछ; मेरो विचारमा घृणा छिरेको छ
खोज्न पनि ताकत चाहिँदो रहेछ; ताकत खोज्न भौँतारिरहेको छु
तल हेरेँ कोही देखिनँ; माथि माथि उक्लिरहेको छु ।

जीवनमा दुःख पाउनु आश्चर्यको विषय पक्कै होइन
मात्रामा समस्या भोग्नु पनि छक्कलाग्दो घटना सायद होइन
अप्ठ्यारो, गाह्रोसाह्रो आउनु जीवनकै क्रम हो, आश्चर्य लागेको छैन
जीवनमा खोजिरहन्छु; खोजिरहँदा दुःख पनि आइदिन्छ – छक्कलाग्दो छैन ।

तर पनि जानाजान ढाँट्न चाहनेहरु, छल्न खोज्नेहरु हेर्न सकिनँ
साँपजस्तै विषालु भएर डस्न खोज्नेहरु, हेर्दाहेर्दै दिक्क लाग्यो देख्न सकिनँ
बदलाको भाव मनमा आइदिन्छ; के गर्ने के गर्ने भो भाग्न सकिनँ
त्यसैले बदलाको भाव मनमा बोकेर म भरेङ उक्लिरहेको छु ।

माथि उक्लेँ र मटानमा पुगेँ, बदलासँग म झस्किएँ
अरु खराब हुँदैमा आफू पनि खराब हुन मनसँग म डराएँ ।

Facebook Comments Box

Similar Posts