भावकेशर बराल
पहिलो दृश्य
एउटा गुलाबी कार
सडक ढाकेर वारपार
मानौँ, संहारको चक्रजस्तै
फनफनी घुमिरहेको छ चक्रपथ ।
एकाबिहानै बास्न थालेका छन्
घरका छानामाथि हुचिलहरु
वरिपरि सल्बलाए झैँ लाग्छ कालै आकृति
सायद, केही जोर काला आँखा बोकेर यमराज
खोजी गर्दै छ सडक आसपास
गाँसबास र कपासको सपना देखिरहेका भुईंमहाराज ।
किन उड्दै छन् मन्दिरमा वरिपरि काला परेवाहरु ?
कालो सिसाभित्र
कालै बुख्याचा टाँसेर मुहारमा
आखिर को सवार छ कारमा ?
र,
तीर्थाटनको खेल खेल्दै छ बेकारमा ?
दोस्रो दृश्य
आवाजहरु मौन छन्
चम्किरहेको छ सिंहदरबार
अन्धकार छोपेर डोकामा
झलमल्ल बलेको छ ढोकामा ।
चाँदीको घेरामा बेरा लागेका काला आँखा
धप्प बल्छन् र झ्याप्प निभ्छन्
उज्यालो बोकेर ढाकरमा
आरोहणमा निस्केका हिमभरियाहरु
केही छिन सुस्ताएपछि आधार शिविरमा
अचानक अस्ताउँछन् सूर्य
र,
झुल्किन्छन् अगणित आकृति ।
किन खितखिताउँदै छन् सडकमा विषालु बिच्छीहरु ?
कालो सिसाभित्र
कालै पोसाकमा सजिएर
को को विराजमान छन् सोफामा ?
र,
कस्तो कोर्दै छन् देशको नक्सा ?
तेस्रो दृश्य
केही दिन र केही रातहरु बिते
अझै निस्केको छैन घरका धुरीबाट धुवाँ
सायद, ओथारो बसेका हुन सक्छन्
अँगेनामा गिद्धका पोथी आकृतिहरु ।
एकनास पुत्पुताइरहेका छन् घरका आँगन
र,
फैलिएको छ बस्तीभरि बारूदी सुगन्ध
छाया हुन् वा मानव आकृति !
मध्यरात जस्तो देखिने समयको घेराभित्र
विजयउल्लास मनाइरहेका छन्
चुनावी लिगलिगे जितेपछि
महाराज चुनिएका मानवराजहरु
अचानक छायामा रुपान्तरित हुन्छन्
र,
मधुशालाका वधूछायामा हराउँछन् ।
के अझै भोकै होलान् दरबारमा महीन्द्र मल्लहरु ?
कालो सिसाभित्र
कालै चस्मा लगाएर
के गर्दै छन् नवमहाराजहरु ?
र, कस्तो देख्दै छन् देशको सपना ?