कृष्ण कँडेल

एक हुल सुगाहरु
मोर्चा कसेर आए
मेरो बारीको रूखमा बसे
पाकेको जैतुनको फल चुमे
खुब चुमे प्रेमपूर्वक चुमे
एउटा हाँगाबाट अर्को हाँगामा
फुत्त फुत्त उफ्रिँदै जैतुन चुमे
कतै आफ्नो स्वाद फेला पारेनन्
कतै जिब्रोले स्वाद भेटेनन्
कोट्याउँदै झार्दै मात्र गरिरहे
तिनीहरुलाई कुनै डर थिएन
तिनीहरुलाई कुनै सन्ताप थिएन
रनवन घुमेर जीवन चलाउनेलाई
केको राप केको ताप ?

न घात न प्रतिघात,
प्रकृतिको एउटै साथ
मेरो बारीको पुरानो जैतुनको रूख
चराहरुको परेडमा कुनै गुनासो गर्दैन
आमा न हो सहन्छे, जाइ लाग्दिन
आमा न हो कमिलाले टोके पनि सहन्छे
मान्छेले लुछलाछ पार्दा पनि
बन्चरो उध्याउँदै गर्दन ताके पनि
एकान्तमा खुसीको आँसु झार्दी हो
हाँसेर बसे प्रश्न गर्दिन
हो, आमाहरु प्रश्न गर्न मन पराउँदैनन्
आफ्नै सन्तानलाई के प्रश्न गर्नु र ?

तिमीलाई जन्माउने आमा र
जैतुनलाई जन्माउने आमा
एउटै ईश्वरका सन्तान
एउटै प्रकृतिका वरदान ।

Facebook Comments Box

Similar Posts