सागर फुयाल,
(बर्लिन, जर्मनी)
ऊ विचलित छ
एक्लै बर्बराउन थालेको छ
के गर्ने, नगर्ने मेसो पाउन छाडेको छ
रित्ता कसौडी र कन्ती
अनि चिसा चुल्होहरूबाट निस्किएका चिसा धुनले
ऊ विचलित छ
तिर्खाले फाटेका फाँटका धाँजा-धाँजाबाट
गड्गडाएका, सुसाएका खोला-खोलाबाट
डुबेका बस्ती-बस्तीबाट
पग्लिएका हिमशिखरबाट निस्किएका चिसा धुनले
ऊ विचलित छ
निर्जन हुदै गएका गाउँ शहरबाट
बिछोडमा झरेका थोपा-थोपा आँसुबाट
परदेशी आफन्त सम्झी अन्तिम भेटका लागि
गरिएका पुकारहरूबाट निस्किएका चिसा धुनले
ऊ विचलित छ
हो, ऊ विचलित छ
चारैतिर बज्न थालेका चिसा-चिसा धुनहरूले॥


