प्रवीण राई जुमेली
(गान्तोक, सिक्किम, भारत)
म हिँड्छु यात्रा एउटा
एउटै मात्र यात्रा
जो हजार यात्राहरुको
झिनु यात्रांश मात्र हो
यसरी नै हरेक
दिक र कालका यात्रीहरु
उस्तै उस्तै यात्रांशहरु
हिँडिरहेका थिए
हिँडिरहेछन् र
हिँडिरहने छन्
मलाई लाग्छ मैले
सम्पूर्ण हिँडेँ
हरेकलाई लाग्छ उनीहरुले
सम्पूर्ण हिँडे
अनेकौँ अदृश्य अहिँडाइहरु
समेट्दै तर
कहाँ पूर्ण हिँड्न सकियो र खै
एउटा यो हिँडाइमा
एउटा हिँडाइ
एकपल्टमा सम्पन्न हुनु
एउटै मात्र हिँडाइको सम्पूर्णता
हजारौँ हिँडाइलाई किनकि
एउटा हिँडाइले समेट्न सक्तैन
कथ्न सक्तैन
हत्केलाले छामेको ब्रेल
भन्दा परतिर पनि भनिन्छ
अझै अरु ब्रेलानुभूति
बाँचिरहेको हुन्छ संरचनामा
टुक्रिएका भिन्न–भिन्नै इन्द्रियलाई
जोडेर
एउटा हात्ती बुझ्नुभन्दा पनि
परतिर
अर्थका अनेकौँ क्वार्क
देखिन सकिन्छ खोजे
भेटिन सक्छ
कतै डेरिडाजस्ता ।
कतै बार्थजस्ता
ती स्पेक्टरहरु
लिन्द्रिङ लिन्द्रिङ अँगालो फिँजाएर
कतै तरङ्गको रेखा त
कतै मात्राको ढेला लढाउँदै ती
कसलाई समातेर म मेरो अविश्वास फालूँ
कुन पुच्छरमा मलाई वैतरणी तार्ने शक्ति छ
तिमी मसित ।दीको
सर्वश्रेष्ठ उपहार माग्छौ भने
म तिमीलाई यही भरम दिन्छु
जहाँ तिम्रा पनि अविश्वासहरु
विश्वासजस्तै रुपवती भई गाइरहने छन्
जीवन जस्तो टल्किने
मृत्युको मोह चाटिरहेछन् ।।
Facebook Comments Box

Similar Posts