लीलाराज दाहाल
(वागमती ११, कर्मैया, सर्लाही)
भोकमरी पो लाग्ने हो कि साँच्चै यो पालि
अनिकाल पो लाग्ने हो कि चुल्हो नबाली ।
धाँजा धाँजा भयो खेत कहालिन्छ यो मन
बिउ सबै मरिगयो भक्कानिन्छ यो मन
कतै भोक आउने हो कि बजाउँदै थाली
अनिकाल पो लाग्ने हो कि चुल्हो नबाली !
स्वर्गको टुक्रा तराई अन्नको यो भण्डार
चारैतिर फैलाउँथ्यो साँच्चै सहकाल
यता मात्रै खडेरी छ, सुक्यो सबै बाली
अनिकाल पो लाग्ने हो कि चुल्हो नबाली !


