राजेश ढुङ्गाना
हिँड्दा,
हिँड्नुअघि
सँघारबाहिर निस्कनेबित्तिकै
आँखाबाट
एउटा थोपो आँसु खसेर
उसको पाइतालाले
कुल्चिएको चिसो टाटो
अझै सुकेको छैन
दिनहरु बिते
वर्षहरु बिते
र, थुप्रै
दशक एवम्
केही शताब्दी नै बित्यो
उसले घर छाड्दा
सँघारमा खसाएर टेकेको
आँसुको थोपोको चिसो टाटो
मलाई थाहा छैन –
केवल
उसको पीडा मात्र हो कि
मेरी आमाको
सदैव दुखिरहने
र कहिल्यै निको नहुने
दीर्घ रोगको औडाहा पनि हो …
दुख्छ उसलाई हर क्षण
विपन्न हँुदा मात्र दुख्ने होइन रहेछ
सम्पन्न हुँदा पनि दुख्ने रहेछ
हो, आमाको न्यानो काखको
कुनै अर्काे
विकल्प
नहुँदो रहेछ !
फेरि पनि
तपाईं परदेशमा बसेर रूनोस्
म तपाईंको आँसुमा
देशमा बसेर आँखाभरि
रून्छु !
निरन्तर …………….


