- सुमन थापा ‘सङ्गम’
उर्लिएर आउँछ
सागरको लहर जसरी
हृदयभित्र एउटा तरङ्ग
जब देख्छु –
ढुङ्गा, माटो, बालुवा र सिमेन्टसँग
जुधेका अनुहारहरु
अनेकौँ ध्वनिहरु मनभित्र
एकैपटक बज्न थाल्छन्
अनि भन्छन्
मेट्नू,
भित्तामा कोरिएका
सन्दर्भहीन अक्षरहरु
फोड्नू,
तह नमिलेका
विभेदका पर्खाल
दुःख मात्र भोगेका यस धर्तीका
ए ! सहनशील मान्छेहरु हो
नबनाउनू विभेदलाई
आफ्नो कमजोरी
गाउनू
ढुङ्गा माटोको सत्यताजस्तै
सुन्दर भविष्यका गीतहरु
चुम्नू दृढ सङ्कल्प बोकेर शिखर
बुझ्नू यसरी कि
दुःख –जीवनको विश्वविद्यालय
दुःख –यात्राको मार्ग निर्देशक
दुःख– साहसको बुलन्द आवाज
दुःखले –सिकाउँछ स्वाभिमान बाँच्न
र सिकाउँछ मान्छे मान्छेबिच हुने समानता
सुन्दर सपना साँचेर सधैँ
फैलनू यो धरामा
कसैको आदेशमा
पाइलाहरु नफर्काउनू पछाडि
खेतखलियानलाई खोस्रिएर
खियाएको नङ्ग्रा
कसैको बिन्तीमा नरोक्नू
सिमेन्ट वालुवाले जोडेर
उठाएको पर्खालझैँ
बलियो पारेर आफूलाई
हिँडाउनू सधैँ
अदम्य साहसका साथ
विजयको बाटोमा र
फैलनू गगनजस्तै विराट् भएर
दुःखले थिचिए पनि
स्वाभिमान बचाएर हिँड्नू
नहुनू उद्देश्यविहीन
बिउँझनू अब
ए ! दुःखमा बाँचेकाहरु हो
तिमीले बगाएका पसिनाले भिजेर
झुलेका छन् खेतका अन्नहरु
उभिएका छन् सहरका महलहरु
त्यसैले
पहिलो सम्मान र कदरको हकदार बनेर
उन्मुक्त उड्नू
चराहरुका पखेटा उनेर
ओर्लिएर सुस्ताउनू यो धर्तीमा
अनि हेर्नू
तिम्रो गीत गाउन हतासिँदै आउने छन्
फेरि उनीहरु जसले तिमीलाई
अभाव र दुःखमा हेपेका थिए ।


