कृष्ण बाउसे
नयाँ सांसदहरुलाई
संसद् भवननजिकैको रूखले सोध्यो –
मैले पठाएको
अक्सिजनको कोसेली त खाँदै छौ नि
अब कस्तो विकास गर्ने शपथ खान्छौ ?
कि मेरो नाम आउनासाथ
तिमीहरु पनि
बड्डाको सिको गर्दै ‘त्यो पर्दैन’ भन्छौ ?
फिस्स हाँसे नेता गण
कारण
उनीहरु सबैको कोटको खल्तीमा
थियो जङ्गलको नक्सा
र छातीभित्र थियो बन्चरोको घोषणापत्र ।
चुनावी पोस्टरमा
हरियाली, समृद्धि र उज्यालो भविष्यको खाका
आफैले कोरेको सम्झन्छन् उनीहरु
तर आफ्नो वाचालाई चुपचाप
त्यसरी नै उडाइदिन्छन्
जसरी बुद्धको शान्ति
युद्धमोर्चाबाट उडेर जान्छ शून्यतिर ।
तैपनि
आशाको पहाड साउती मार्छ बादलसँग–
युवा सांसदहरु इमानीजस्ता छन्
छाड्दैनौँ भन्दै छन् भ्रष्टलाई
‘आमा’ भन्दै छन् धरतीलाई ।
आतङ्कको बलिवेदीमा
सम्पदा तड्पिरहँदा
उर्लिरहेको कालो धुवाँमा विम्बित
हिंस्रक अनुहारहरु सम्झेर
ओठ लेप्रायो बादलले ।
प्रमाणित कपुतले
आफ्नै ऐयासपूर्ण जीवनका लागि
ढुङ्गा, बालुवा र काठको नाममा
बेचेकै हुन् धरणीका हड्डी ।
सम्झौताका नाममा नदीनाला बेच्दा
बेचेकै हुन् तिनकै रगत ।
तुच्छ दस्तुरका लागि
चोमोलुङ्माकै शिरमाथि पनि
चलाएकै हुन् कार्बनको सवारी ।
अहिले
अबोलाले बोली फुटेको खुसीयालीमा
बोल्नै नहुने कुरा उम्काइदिएपछि
फेरि चिसो पसेको छ उनको मनमा ।
यस्तो परिवेशमा
हर्षातिरेकको मेषनृत्य चल्नु
स्वाभाविकै हो कौरवको सभामा ।
सायद
हुरीले लुछेका पातझैँ
जनताका सपनाहरु उडिरहने
यस्तै कुनै रूख हो मेरो देशको लोकतन्त्र
जसका जराहरु फैलिएका छन्
स्वदेशको माटोमा धेरै कम
र पराइ आँगनमा असाध्यै बढी ।


