डा. चेतनाथ कणेल ‘हरित’

चिसिएका पातहरु
रूख छाडेर
भुइँमा झरे
यताउता छरिए
बतासको लयसँगै तितरबितर भए
कुनै बेला रूख गर्व गर्दै थिए,
र भन्दै थिए–
प्रिय पातहरु,
तिम्रो हरितपनाले हामीलाई गर्वित बनाउँछ
तिम्रो खाद्य–कारखानाले हामीलाई जीवन दिन्छ
तिमी हाम्रो शोभा हौ
तिमी हाम्रो भरोसा हौ
त्यसैले,
तिमी हामीलाई छाडेर कतै जानु हुँदैन
तिमी अलग्गिएर छुट्टिनु हुँदैन ।

समय बदलिएको छ
मौसम फेरिएको छ
सिजन रुपान्तरित छ
अब रूखमा पात छैनन्
अब रूखहरु हरिया छैनन्
चिसोले कठ्याङ्ग्रिएका हाँगाहरु
शिख्रिएका छन् शिखरबाट हरियाली हराएझैँ
आन्दोलनपछिको सुनसान सडकजस्तै
शव जलाइसकेपछिको रित्तो आर्यघाटजस्तै !

रूखका पात झरेजस्तो
सुनसान आर्यघाटजस्तो
अनायास रोकिएको यात्राजस्तो
घरबाट टाढिएको सन्तानजस्तो
कतै सन्नाटा, कतै कोलाहल
अनिश्चितताको भुमरीमा फनफनी घुमेको
रिङ्ने रहको अनियन्त्रित गतिको पानीजस्तो
कतै हावा चलेजस्तो, कतै ठप्प रोकिएजस्तो
हल्लिनुपर्ने पात पनि नहल्लिएजस्तो
अचल झन्डा र लुङ्दरजस्तै
अविचलित तोरण र मानेजस्तै
यो क्षण मेरो अगाडि छ
न अघि बढ्न खोजेजस्तो
न पछि सर्न चाहेजस्तो !!


Facebook Comments Box

Similar Posts