जीवन आचार्य ‘निश्चल

निक्कै भयो स्यालहरु
बाघको खोल ओढेर डुलिरहेको
तपाईंको घरगाउँतिर
बाघहरु बिरालाको मखुन्डो भिरेर
डुलिरहेका छन् त्यसै गरी ।

चुपचाप चुपचाप
समुद्रमा आँधी आउनुभन्दा अगाडिको जस्तो
शान्त र स्तब्ध भएर बसेको छ गाउँघर
हामी कुखुराका चल्लाजस्तै
छरपस्ट छौँ र भेडोजस्तै एकोहोरो ।

बाज र गिद्ध हर्षोल्लास गर्दै छन्
पखेटा फिँजाएर आकाशमा विचरण गरेर
केही बेर पर्ख ! सपनाको धरहरा ढल्दै छ र,
किचिएर सिनो हुँदै छन् स्याल, बाघ र ब्वाँसाहरु
आँधीबेहरीले
स्याल, बाघ र ब्वाँसाको मखुन्डो उडाउँदा
देखिने छ सक्कली अनुहार
किनभने फेरि आँधी आउँदै छ ।

अग्लाहरुका अग्लाइ छोटिने छन् र
अग्ला हुनुको अहम् तोडिने छ
पुरिने छन् भविष्यको इतिहास बनेर
वर्तमानको खाल्डोमा
बस्तीका घाउमा मलम लगाउन
फेरि आँधी आउँदै छ ।

साँझमा दीप प्रज्वलनको तयारी गर्नु छ
अझै पनि सहरमा जस्तो
गाउँघरमा मानवता हराएको छैन ।

Facebook Comments Box

Similar Posts