इन्द्रकुमार श्रेष्ठ ‘सरित्’
(तरहरा, सुनसरी)

रङ थरी थरीका
तर पनि रङ एउटै
सारमा अर्थ एउटै
छरेर आँखामा छारकाप्रो
संसारलाई नै मूर्ख बनाइरह्यो

अघाएन कहिल्यै सपना बाँडेर
भ्रमको खेती गरिरह्यो
भाषण एउटै
शैली एउटै
स्वार्थपूर्ण उद्देश्य एउटै
जगले नवीनता कहिल्यै भेटेन
तैपनि ऊ कहिल्यै दुत्कारिएन
सत्कारको अभाव
उसले कहिल्यै भोग्नुपरेन

झुठको बाली काटिरह्यो उसले
स्वप्नभङ्ग हुँदा
जगलाई ऐठन गरिरह्यो
आत्मरतिमा रमाउनेहरुले
नक्कली मयूरलाई कहिल्यै चिनेनन्
गुलियो सपनाको भ्रमबाट मुक्त भएर
कठोर यथार्थसँग पौँठेजोरी कहिल्यै खेलेनन्
पटक पटक धोका खाँदा पनि
धोकेबाजलाई नै धोका दिएर
नयाँ यात्रामा निस्किने आँट कहिल्यै गरेनन् ।

Facebook Comments Box

Similar Posts