यामबहादुर थापामगर
(बागलुङ १०, भकुन्डे, धौलेचउर)
गाउँमा हुनेखानेले बसाइँ सराइ गरे
हुँदा खाने र भुइँमान्छेहरु गाउँमै बसे
सामाजिक परम्परा बुढाबढीको मृत्युसँगै हराए
मोटर बाटो र विकास गाउँतिर जाँदा
गाउँका मानिस मोटर बाटोबाटै
सुखको खोजीमा
सहरतिर झन् सजिलै झर्न पुगे ।
झाम्रे, सोरठी, सालैजोहरु गाउँबाट हराउँदै जाँदा
लोकसंंस्कृतिका सम्पत्ति युवाबाट बिलाउँदै छ ।
शत्रुको खेती गर्नेको भिड आँखाअगाडि देख्दा
शत्रुलाई अगाडि नै चिनेर प्रगतिमा लागेको थाहा नपाउनेहरु
सकारात्मक सोचका साथ शत्रुबाट फाइदा लिन जान्नेहरु
बिनाशत्रु इतिहास लेखन असम्भव हुन्छ भन्छन् विद्वान्हरु
शत्रु नभएको भए नायक र महानायकको सम्झना नै हुन्थेन
शत्रुताले सृजनाका लागि आमा बनाउँछ कसै कसैलाई
शत्रुताले समस्याको समाधान खोज्न सिकाउँछ कसैलाई
शत्रुताले विकल्पमध्ये उत्तम सोच्न लगाउँछ
शत्रुको व्यवहारले सङ्गठित भई एकता हुन प्रेरित गर्छ
समाजका दुस्मनले कमजोरी केलाउन सिकाउँछ
भविष्यका लागि सर्तक रहन सिकाउँछ ।
समाजसँग भएको दुखेसो भनेको
किन सद्भाव, भ्रातृत्व र बन्धुत्व हुदाँहुदै
गाउँ रित्तिँदै छ
घरहरु भत्किँदै छन्
बाँझो खेतबारी बढदै छ
किन गुनासो मात्र पोख्ने समाजका पात्रहरु
सधैँ नारकीय जीवन जिउन विवश छन्
किन औपचारिकतामा सीमित भएर तर्कनेहरु
अनौपाचिरकतामा तथानाम गाली र गलौज गर्छन्
किन तास, जुवा, रक्सी र चुरोट खाने संस्कारलाई संस्थागत गर्छन्
किन अम्मल नगर्ने घरपरिवारलार्ई समाजसेवाबाट वञ्चित गर्न खोज्छन्
किन समाजको अन्तिम अस्त्रबाट निर्मम प्रहार गर्छन् ?
असल अभ्यासको सिको गर्ने परिवारबाट
सकारात्मक सोचका लागि साँघुरो चिन्तन बोकेर
यथास्थितिवादी सोचले ग्रस्त समाजप्रति धारणा तोडेर
निर्ममतापूर्वक छातीमा बज्र र इमानदारीमा ठोक्छ ?
समाजले चाहेको समाज निर्माण
जुवा, तास र रक्सीको लतमा ग्रस्त होस्
भुइँमान्छेहरुको जमात बढाएर सङ्गठन बनाउन खोज्छ
समाजको परिवर्तन र समृद्धिको खेलोमा लाग्न
भोलिका दिनमा चेतना आओस् ।