डा. बमबहादुर थापा जिताली

शास्त्रीय छन्दका छाँगा, छहरा छन् सँगै जहाँ
शब्द–झङ्कारझैँ बज्छन् भाव–कल्लोलझैँ त्यहाँ ।
शार्दूल–लयमा लम्की अनुष्टुप् भै बिहानमा
बगाई स्रग्धरा धारा, बग्छु वंशस्थ–तानमा ।।

म हुन्छु हारिणी कैल्ये, हंसी र हरिणी कतै
मालिनी, शालिनी छन्द चौपाई, स्रग्विणी कतै ।
चित्रलेखा बनी लेख्छु डोलाई पञ्चचामर
उपेन्द्र, इन्द्रवज्रामा भेट्छु सङ्गीत–सागर !!

शार्दूल–ललिता जस्तै शोभा, सम्भु समाउँछु
सुरसासरिका छन्द वैश्यदेवी रूचाउँछु ।
गजको गतिमा चल्छन् भाव–भङ्गी रथोद्धता
मत्त–मयूरझैँ नाच्छन् मन्दाक्रान्ता, विलम्बिता !!

वसन्ततिलका भाका, भकारी छन् प्रभद्रक
उपजाति दुई साथी दोधारमा छन् दोधक ।
मन्दाकिनी, विद्युन्माला, इन्द्रवंशा र इन्दिरा
छन् मञ्जुभाषिणी वाणी चन्द्रलेखा र मन्दिरा ।।

शिखरिणी–कला, छन्द भुजङ्गझैँ प्रभावती
फुल्लदाम, द्रुता देख्छु छाँगामा छन्दको गति ।
वर्णमात्रिक, मातृका, झ्याउरे लोकछन्द छन्
सवाई लयमा नाना भावना अझ खेल्दछन् ।।

लोकछन्द नसाभित्र, मुटुमा वर्णमात्रिक
छन्दका छहरा छुट्छन् सवाईसरि तोटक ।
राष्ट्रिय भावना फुर्छन् भूगोलै फुट्छ झैँ गरी
शब्दशक्ति अकासिन्छन् ज्वारभाटा उठेसरि ।।

(कविता छन्द: अनुष्टुप् छन्दमा रचना गरिएको छ ।)

Facebook Comments Box

Similar Posts