भोलानाथ सुवेदी
तपाईंको घर कहाँ हो नि ? त्यो अपरिचित आवाज ? किन मैले भने ? परिचय गर्ने बाटो । उसको जबाफ । जहाँको होस् जताको होस् । ठाउँको ठाउँ परिचय भैहाल्छ । यस्तै चलन छ अचेल । समस्यामा पर्दा मान्छेले घर सोध्छ नत्र ठाडो पुच्छर लगाएर दौडन्छ । यसको उदाहरण तपाईं र मबाहेक जान्ने को होला र अरु । घर बालापनको नाट्यशाला । दुःख बिसाउने चौतारी । देशप्रेम जगाउने र जीवन सिकाउने प्रयोगशाला पनि । एक झर पानी ओत्ने र टन्टलापुर घाममा शितलता दिने वर वृक्ष पनि ।
व्यञ्जन वर्णको घभन्दा कयौँ वर्ष अघिदेखि घरले पृथ्वीमा खुट्टो घुमाएको हुनुपर्छ जस्तो यो कलमजीवीलाई लाग्छ । वर्णमालाको विकासको क्रममा विद्वान्हरुले यसको कदर गर्दै पहिलो लहरको चौथो क्रममा यसलाई विराजमान गराइदिए पछि यसको महिमा चुलिदै आएको छ । अझ यो शताब्दीमा त यसकै वरिपरि मान्छे जाँतो घुमेझैँ घुमिरहेको छ । अचेल गर्मीदेखि सर्दीसम्म वातानुकुलित घरहरु निर्माण भएका पाइन्छन् ।
आम्दानी र हावापानीअनुसारका घरहरु निर्माण भएका हुन्छन्। खरले छाएको होस् वा टिनले टल्काएको भय भगाउने र आसा जगाउने माध्यम हो घर । घर आमाको काख जस्तै ठान्छ मान्छेले । सन्तोषको सास फेर्नको लागि । टालेको भए नि दाह्रा फर्केको भए नि घरको चार सुरभित्र मान्छेले जीवनको लक्ष्य निर्धारण गर्छ । घरले इतिहास बोल्छ । जीवन दर्शन सिकाउँछ र गन्तव्य पहिल्याउँछ । मानव विकासक्रमसँगै मान्छेले सिकेको पहिलो कुरा बास थियो । बास मान्छेको आधारभूत आवश्यकता । सरकारले बासका लागि वर्षेनी करोडौँ बजेट छुट्याए पनि बास नपाएकाहरु सडकमा असरल्ल भेटिन्छन् । बजेट कहाँ गयो कसैले खोज्दैन । बनेका घरमा कति मान्छेले आश्रय लिए कतै जानकारी हुँदैन । आफ्नो घरभित्र मान्छेले सहजता, सरलता र अपनतव महशुस गर्छ र त अरुको घरमा एक झप्को निदाउन सक्दैन । एक्लै रमाउन अभ्यस्त छ मान्छे । भूकम्पपछि त बाक्लो दाल खानेको सङख्या बढेर गयो । घरमा भएका चार सदस्यमा सबै छुटिएर बसेपछि सरकारले राहात दिन करै लाग्यो । अहिले ति घरहरु भुत बङ्गाला बनेका छन् । घरकै कारण एकल परिवारको विकास भएको हो । भूगोलअनुसार मान्छेले घरको जग बसाल्यो र रमाउन थाल्यो । भानुभक्तको घरदेखि देवकोटाको घरसम्म । वि.पि.को घरदेखि भण्डारीको घरसम्म ज्ञानीको ज्ञान र ध्यानीको ध्यानका लागि संरक्षण गरिएका छन् ।
घरबारे कति गीत गाइए । कति काव्य रचना भए । उखान र टुक्का बने । त्यसैले घर सबैको अभिभावक बनेको छ । भाडा खानु र झाडा खानु एकै हो भन्ने मेरा एक मित्र सहरमा घरको तलो थप्न व्यस्त देखिन्छन् अचेल । प्रत्येक वर्ष बजेट भाषणसँगै कोठाको भाडादर कम्तीमा पाँच सयले उकालो लाग्छ र घरवाला र डेरावालाको सङ्गठन बन्न पुग्छ । घरले मित्रमात्र होइन शत्रु पनि कमाइरहेको हुन्छ । बैङ्कमा ऋण लिएर जग बसालेकाहरु यसका साक्षी प्रमाण हुन् । नागरिकतामा फोटो टाँस्नदेखि जागिरको दरखास्तमा दरिनसम्म घरको चार सुर कस्नै पर्छ । जन्मदा होस् वा मर्दा घर ठेगाना नखुले न जन्म दर्ता हुन्छ न मृत्यु दर्ता । अस्पतालमा होस् वा अदालतमा बसमा होस् वा हवाइजहाजमा जहाँ पनि घर हाजिर हुन आइपुग्छ । तपाईंको घर कहाँ हो नि ? यस्तै प्रश्नले झस्काइरहन्छ ।
घर कसको हुँदैन । कमिलादेखि धमिरासम्म । कुकुरदेखि ढुकुरसम्म सबै आआफ्ना घरभित्रै घेरिन्छन् । गुँडमा बसे नि डुँडमा बसे नि झुप्रोमा बसे नि दरबारमा पसे नि एक पेट खाएर सन्तोषको सास फेर्न घर नभई नहँुदो रहेछ । सानो होस् कि ठुलो होस् । झ्याले होस् कि प्वाले होस् । घरभित्र पसेपछि न विषालु जीवले डस्ला भन्ने पिर न झरीले झ्याउरे पार्ला भन्ने डर । घरका विषयमा मानिसलाई भन्दा बढी पीडा अरुमा भेटिँदैन । छोरी अन्माउन होस् वा बुहारीभित्रयाउन घर बिहेको पहिलो सर्त हुन्छ । अझ बाउआमाको बुढेलबुटीदेखि छोराछोरीलाई अंशसम्म घरकै भागबन्डामा अडिन्छ । सन्तानका लागि दुःख गर्नेहरु पछि घरको न घाटको भएर बेघर बाँचेका भेटिन्छन् । बाउको होस् कि साहुको होस्, बाजेको होस् कि बराजुको होस् घर भनेपछि मर्न आँटेकाहरुले पनि –याल चुहाउँछन् । अझ सहरमा भाडा नतिरी बस्ने घर भेटेकाको त कुरै बेग्लै ।
घरको दलिनमा पिङ खेलेकाहरु घरकै कारण दलिनमा झुण्डिन्छन् । घरका लागि मान्छेले विश्वका कयौँ देशको गल्ली डुलेको छ । मरुभूमिमा बाफिएको छ । कतार, मलेसियादेखि स्पेन र टर्की पनि काटेको छ । खरको छानो फालेर टिनको छानो हाल्न मान्छेले आफैलाई बेचेको छ । घर नहुनेले जग्गा जोड्यो घर बनायो । घरका लागि मान्छेले के गर्न बाँकी राखेन होला र ? चोर्नेदेखि फोर्नेसम्म, लुट्नेदेखि कुट्नेसम्म । अपुताली होस् वा बकौती, अत्याचार होस् कि भष्ट्रचार होस् सबै हतकण्डा अपनाइको छ गजवले ।
घरले यौटै लाम्टो चुसेर हुर्केका दाजुभाइमा वैमनश्यता ल्याउनेदेखि जन्मँदै घाँटी निमोठ्ने गरेको पाइन्छ । घरले परिवारमा फाटो ल्याउने होइन सम्बन्ध सुधार गर्ने काममा सबैलाई प्रेरणा दिन सकोस् । जय घर !


