- निर्मला श्रेष्ठ
खेती गर कि पोछा लगाऊ
वा भाडा माझेर कमाऊ
मेसिनमा जाला हातगोडा भनी आफूलाई जोगाऊ
आफ्नो अमूल्य मत दिएर बाठा नेतालाई पगरी गुथाऊ
विदेशमा पसिना बगाएर स्वदेशमा रेमिट्यान्स पठाऊ
जेसुकै गर
कसैले बुझिदिँदैनन् भुइँमान्छे र तिनको पीडा ।
पर्दापछाडिका नायक
तिनै भुइँमान्छेको साथबिना
हाकिमहरु चिरिच्याट्ट पर्न सक्दैनन्
नेताले छाती पिट्न पाउँदैनन्
उद्योगपति नाफा कमाउन सक्दैनन्
तमाम मान्छेका हातमुख जोडिन मुस्किल पर्छ ।
आलिसान महल बन्ने छैनन्
ती महलमा चौरासी व्यञ्जन छिर्ने छैनन्
मालिकहरुले सस्ता कामदार पाउने छैनन्
जमिनदारको खेत जोतिने छैन
होटलमा भोज पाक्ने छैनन्, भाडा माझिने छैनन्
सस्तो ज्यालामा जीवन–सङ्घर्ष गर्ने ती मजदुरबिना
कसरी चल्ला यो दुनियाँ ?
मानिसको दर्जा पाएकी छैनन् बिचरी चेलीले
बिनातलब कामदार पाएका छन् परिवारजनले
जसले यस धर्तीमा थिरथिर गरी हिँड्न सिकाइन्
बाबा, मामा, तातेतुते बोल्नलाई सिकाइन्
कसले बुझिदिन्छ ती आमाको पीडा ?
कसले कहिले तिर्लान् त्यसको मूल्य ?
कखरा सिकाउँदै उच्च शिक्षा दिई योग्य बन्न सिकाउने
नैतिकताको पाठ सिकाई कर्तव्यनिष्ठ बनाउने
भलो हुने नीति निर्माण गरी देश बनाउन प्रार्थना गर्ने
आफू जलेर उज्यालो छर्न सिकाउने
कठै ती शिक्षक बिलखबन्द देखिन्छन्–
देश कता पो लाँदै छन् भनेर !
भुइँमान्छेहरुले
छैन कुनै दिन रूनु नपरेको– राखी पुर्पुरोमा हात
पाउँदैनन् तिनले कहिल्यै आफ्नो सुखदुःखमा साथ
ठुलाठालु पल्टिरहेछन् टेकेर भुइँमान्छेको माथ ।
कहिलेसम्म चलिरहला अन्नदातामाथि युगीन यातना ?
कहिले रमाउन पाऔँला हामी–
कामकाजीको इज्जत र सम्मानको उत्सवमा ?
खुसी कहिले आउला भुइँमान्छेको आँगनमा ?
कसले देला हिसाब पसिनाको मूल्य गनेर ?
कहिले पाइएला गर्वका साथ
भुइँमान्छेहरु नै हुन् हाम्रा देवता हुन् भन्नलाई ?


