शीतल गिरी
१. विषयपरिचय
मानिसका स्वरहरु झङ्कृत भएको जनभावना र लोकजीवनको आँसु, हाँसो र वेदना छचल्किएको सम्पूर्ण जनमानसकै स्वर हो । लोकमहाकाव्य त जनताकै सुखदुःखलाई प्रत्यक्ष अनुभव गरेर वनपाखा, उकाली, ओराली, देउराली र मेलापातका आत्मा बोकेको प्राचीन कालदेखि अविच्छिन्न बगिरहेको लोकको अमूल्य निधि हो । तराईमधेसमा लोकमहाकाव्यका रुपमा लोकमान्यताका आधारमा रानी सारंगा, अलहारूदल, सोरठी वृजाभार, भरथरी, सहलेस गाथा, लोरिकायन आदि छन् । लोकमहाकाव्य सरल, सङ्क्षिप्त र सुमधुर हुनाका साथै कलात्मक पाराले पोतिएको हुन्छ । यीमध्ये लोरिकायन लोकमहाकाव्यमा दन्तकथा र तराईमधेसको ऐतिहासिक विषयवस्तुको सङ्केत पाइनुका साथै भूगोल मुख्य आधार बन्न गएको छ । यस लोकमहाकाव्यमा भूगोल मुख्य आधार पाइए तापनि राजाहरुका स्वार्थको विषयलाई लिएर कथानकको विकास भएको छ । यही कथानकलाई अगाडि बढाउन नायक लोरिक, मञ्जरी, चनवा खलपात्रका रुपमा बमरी, मोलागत, दसवन्त, भिम्हली, निर्मल, हरेवालगायत छन् । प्रमुख पात्रलाई सहयोग गरी कथानकको उद्देश्य पूरा गर्न यस लोकमहाकाव्यमा सतिया मदाइन, विजवा, अजयी, खेदु, मदसांवरलगायत सहायक पात्रका रुपमा र झेँगुरी, टिकाई, देवसि, नोनवांलगायत छन् । लोकमहाकाव्य लोकजीवनकै साझा सम्पत्ति हो । प्रस्तुत गोष्ठीपत्रमा यिनै पात्रहरुको भूमिकाको अध्ययन तथा विश्लेषण गरिएको छ । लोकसाहित्यमा मानव वा मानवेतर प्राणीको प्रयोग गरेको हुन्छ, तिनै प्राणीलाई पात्र भनिन्छ । आख्यानात्मक कृतिमा प्रयुक्त नायक, नायिका, अभिनेता तथा अन्य व्यक्ति वा वस्तु नै पात्र हुन् । तिनै पात्रको स्वभाव, प्रकृति, आदत, व्यवहार, चालचलन, लवाइ, खवाइ, बोलीवचन, विचार, हाउभाय, आनीवानी, आचरण, कार्यशैली आदिलाई चरित्र भनिन्छ भने तिनै प्राणीको व्यवस्थित विन्यासलाई पात्रविधान भनिन्छ ।
लोरिकायन लोकमहाकाव्यको पात्रविधानलाई मूल विषय मान्दै तिनको भूमिकाको अध्ययन तथा विश्लेषण गर्नु यस आलेखको मुख्य विषय हो ।
२. लोकमहाकाव्यको सैद्वान्तिक स्वरुप
आख्यानात्मक कृतिमा प्रयोग भएका मानव वा मानवेतर प्राणी पात्र हुन् । कथानकलाई गति दिन सिङ्गो लोकमहाकाव्यलाई विशिष्ट मूल्य प्रदान गर्न पात्रले निर्वाह गरेको भूमिकालाई चरित्र भनिन्छ भने पात्रको वर्ग, तिनीहरुले निर्वाह गर्ने भूमिका, कार्यव्यापार, भावविचार, स्वभाव, चारित्रिक विशेषता आदिका आधारमा तिनीहरुका जे जस्ता भूमिका रहन्छन्, त्यो प्रक्रिया नै सम्बन्धित लोकमहाकाव्यको पात्रविधान हो । लोकगायकले आवश्यकताअनुसार पात्र सिर्जना गर्छ । तिनीहरु सत्यको नजिक हुन्छन् । तिनीहरुले नै आख्यानात्मक घटनालाई अगाडि बढाउने कार्य गर्ने हुँदा पात्रलाई आख्यानको प्राण भनिन्छ ।
लोकमहाकाव्यका मालाहरुमा अनेकौँ सुन्दर हिरामोतीजस्ता बहुमूल्य फूलहरु गाँसिएका हुन्छन् । लोकमहाकाव्य जनमानसकै सहृदयी भएर अविरल गतिमा चलिरहेको छ । लोकमहाकाव्यका पात्रहरुको चर्चा वस्तुयोजनामा प्रमुख पात्रहरुको भूमिकालाई मूल आधार मानिएको छ । मानवीय प्रवृत्तिका आधारमा पात्र उत्तम, मध्यम र अधम गरी तीन प्रकारका हुन्छन् । लोकमहाकाव्य जीवित लोकजीवनको अलिखित सामाजिक एवम् सांस्कृतिक इतिहास हो । यस अर्थमा लोकमहाकाव्य लोकको साहित्य, लोकद्वारा सिर्जिएको साहित्य र लोकका लागि रचिएको साहित्य भन्ने बुझिन्छ । जुन लोकमहाकाव्यमा लोकभावना र लोकअभिव्यक्ति फुरेको हुन्छ, सजिएको हुन्छ र चम्किएको हुन्छ, त्यसैमा सर्वसाधारण जनता भिजेका र हुर्केका हुन्छन् । लोकजीवनका सुखदुःख, रीतिरिवाज, आस्था, निष्ठा एवम् परम्परागत तङ्खवहरु विद्यमान रहेको काल्पनिक एवम् मौखिक कलात्मक अभिव्यक्ति लोकमहाकाव्य हो । लोकमहाकाव्यमा पात्र नै लोकगायकको प्रतिनिधि, उद्देश्यबाहक, घटनाको सञ्चालक, सर्जक र स्रोताको पुल भएकोले लोकगायकले आफ्नो गायनमा यसको राम्ररी व्यवस्था गर्नुपर्छ । मौखिक अभिव्यक्तिको समष्टिगत स्वरुप लोकमहाकाव्य हो । लोकगायकले पात्रविधानकै माध्यमबाट हरेक सहभागीका व्यक्तिगत र निजी प्रवृत्ति एवम् गुणलाई स्पष्ट््याउने तथा तिनलाई सशक्त र जीवन्त तुल्याउने काम गर्छन् । लोकमहाकाव्यमा घटनावली र कथानकलाई गतिशील, प्रभावकारी र विकसित तुल्याउने तथा प्रस्तुतिलाई सार्थक र गरिमामय बनाउने सन्दर्भमा पात्रविधानको महङ्खवपूर्ण भूमिका रहन्छ ।
लोकमहाकाव्यमा लोकगायकले प्रतिनिधिमूलक पात्रहरुको प्रयोग गरेको हुन्छ । लोकमहाकाव्यमा युगजीवनका समग्रतालाई प्रस्तुत गर्न सक्ने प्रतिनिधिमूलक पात्र लोकगायकबाट चयनको अपेक्षा गरिन्छ । समग्र जातिको जातीय प्रतिनिधित्व गर्न सक्ने पात्र नै लोकमहाकाव्यका लागि अपेक्षित पात्र हो । लोकमहाकाव्यका सबै पात्रले उत्तिकै महङ्खवपूर्ण कार्य गर्दैनन् । लोकमहाकाव्यमा सबैभन्दा बढी भूमिका भएको केन्द्रीय पात्र नै प्रमुख पात्र हो । जुन पात्रसँग लोकमहाकाव्यमा निहित कथानकको घनिष्ट र सोझो सम्बन्ध रहन्छ त्यसलाई प्रमुख पात्र भनिन्छ । प्रमुख पात्रको चरित्रलाई उजिल्याउन तथा उसका क्रियाकलापका लागि पृष्ठभूमि तयार गर्न मद्दत गर्ने पात्रहरु सहायक पात्र हुन् । कथानकसँग सिधा सम्बन्ध नभएका तर मुख्य पात्रको चरित्र विकासमा सहायक हुने र कथानकका तन्तुहरुलाई जोड्ने पात्र गौण पात्र हुन् । तिनीहरुले अप्रत्यक्ष रुपमा लोकमहाकाव्यको लक्ष्य प्राप्तिका लागि काम गर्छन् । लोकमहाकाव्यमा रहेका पात्रहरुको भूमिकालाई आधार मानेर तिनीहरुलाई प्रमुख, सहायक र गौणमा विभाजन गर्न सकिन्छ । प्रमुख पात्र उसको भूमिकाका आधारमा आधिकारिक कथानकसँग जोडिन्छ भने सहायक र गौण पात्रहरुले प्रमुख पात्रलाई प्रकाश पार्ने र कथानकमा गति दिने काम गर्छन् ।
यसबाट के स्पष्ट हुन्छ भने लोकमहाकाव्यका उद्देश्य र स्वरुपका आधारमा पात्रले निर्वाह गर्ने भूमिका पनि आआफ्नै किसिमका हुन्छन् । कुनै पात्र सुरूदेखि अन्तसम्म आएका हुन्छन् भने कुनै पात्र बिचमै हराउँछन् । सबै पात्रले बराबर महङ्खव पाएका हुँदैनन् । यसरी नै पात्रको श्रेणी निर्धारण गरिन्छ । लोकमहाकाव्यका पात्रलाई मूल पात्रका श्रेणी, सहायक पात्रका श्रेणी, गौण पात्रका श्रेणीमा सहनायक सहनायिका पर्दछन् । मूल पात्रसँग सोझो सम्बन्ध भएका पात्र गौण पात्रअन्तर्गत पर्छन् भने ज्यादै छोटो समय लोकमहाकाव्यमा आएर आफ्नो कार्य पूरा गर्ने पात्र अति गौण पात्रका वर्गमा पर्दछन् । कुनै पनि राष्ट्र, समाज र लोकमहाकाव्यका बिच घनिष्ट सम्बन्ध रहेको हुन्छ । लोकमहाकाव्य लोकसंस्कृतिको स्वरुप हो र लोकसंस्कृतिको स्वाभाविक चित्रण लोकमहाकाव्यमा भेटिने हुँदा लोरिकायनका पात्रहरुको विश्लेषण गरिएको छ ।
३. लोकमहाकाव्य लोरिकायन
लोकमहाकाव्य लोरिकायनका पात्रहरुको विश्लेषण गर्नुभन्दा अगाडि किन यसको रचना गरिएको हो भन्ने कुरा बुझ्नु युक्तिसङ्गत हुन्छ । लोकमहाकाव्य रचनाबाट यस लोक र परलोकमा समेत मनोरथ पूर्ण हुन्छ भन्ने वेदकाव्यका कुरा सुनेर वा बुझेर होस् वा नहोस्, यसबाट चतुर्वर्गफल प्राप्ति अर्थात् धर्म, अर्थ, काम र मोक्षजस्ता कुरा पाइने लोभमा गरेर होस् वा नहोस् यसप्रति लोक अभिरूचि निकै ज्यादा हुन्छ । अभिव्यक्तिमा सङ्गीत मिसिएको खण्डमा भनाइ आकर्षित हुन्छ र आकर्षक कुरा सुस्मरणीय पनि हुन्छ । मूलतः यही तथ्यलाई मनन गरेर प्राचीन समयको वीरगाथाको पृष्ठपोषक तङ्खवलाई सङ्गीतात्मक पुट दिई जनमानसमा सुस्थापित हुन सकेको तराईमधेसको लोकरचनाको गौरव हो यो । लोकप्रतिभाको प्रस्फुरणले ठाउँ खोज्ने क्रममा यस्ता लोकमहाकाव्यको आश्रय लिइएको हो कि जस्तो पनि लाग्छ । लोरिकायनको प्रचारप्रसार लगभग सम्पूर्ण तराईमधेसमा छ । यसको कथा लोकसाहित्यका अध्येताका लागि मात्र होइन बरू साहित्यिक पाठकका लागि पनि महङ्खवपूर्ण छ ।
लोकमहाकाव्य लोरिकायनको नायक गउरको अहिर हो जसलाई जनवा नामकी एउटी विवाहिता सुन्दरीले अपमानित गर्छ । होली खेल्न आएको लोरिकलाई व्यङ्ग गर्छ, ‘यदि तिमी वीर हो भने त दाजुको विवाह गरेर भाउजू ल्याऊ र होली खेल ।’
लाञ्छनाले दुःखित बनेको लोरिक दाजुको विवाह गराउन चाहन्छ तर गाह्रो छ । उसको दाजु मलसांवर भजनकीर्तनमा लिन रहने गर्छ र विवाह गर्न नै चाहँदैन । पाण्डित्य र अभ्यासका बाछिटै यस लोरिकायनमा नदेखिने भन्नु त गलत हुन्छ तर तिनको मात्रा तुलनात्मक रुपमा कमै देखिन्छ । यसमा भनिएको कुराको सहज प्रवाह र शैलीको स्वाभाविकताले पनि यस कुरालाई प्रमाणित गर्छ । कतिकै गर्दा पनि विवाहका लागि तयार नभएको मलसांवर एउटी मुसहरिनको व्यङ्ग, ‘मेरो मुसहर त्यस समयसम्म भोजन नै गर्दैन, जबसम्म ऊ हिँड्ने बाटो पवित्र जल छर्किएर मैले पवित्र बनाउँदिनँ किनभने जुन बाटोबाट बालब्रह्मचारी हिँडेको हुन्छ । धर्मअनुसार त्यो बाटो अपवित्र हुन्छ ।’ सुनेर विवाह गर्न तयार हुन्छ । तर मलसांवरको भावी पत्नी सतिया पनि यस्तै छिन् जो भजनकिर्तनमा सधैँ लिन रहन्छिन् र विवाह गर्न नै चाहँदिनन् । अजयी धोबीको अगुवाइमा सजिएर गउरबाट सोहबल गएको जन्तीमा बाँठा चमार, सुर्जन डोम तथा अरु थुप्रै जातिका मानिस सहभागी छन् । विवाह साधारण छैन । यहाँ पाइने प्रायः लोकमहाकाव्यको रचनाशैली एउटै किसिमको देखिन्छ ।
यस विवाहमा अनेकौँ लडाइँ हुन्छ । लडाइँमा शक्तिवाण र अग्निवाण प्रयोग गरिन्छ । दुर्गा माता र वनसती माताको पर्याप्त सहयोग लोरिकलाई प्राप्त हुन्छ । सतियाको आज्ञाले हरदोइया नागले सम्पूर्ण जन्तीलाई डस्छ र मार्छ तर दुर्गा माताले सम्पूर्ण जन्तीलाई पुनः जिउँदो पार्ने उपाय सिकाउँछिन् । कथाले एउटा मिथकको रुप धारण गर्छ जसमा मानिसको साथमा देउताले पनि भाग लिएका छन् । लोरिकले बमरीको छोरा भिम्हली र दसवन्तलाई मारेर मलसांवर र सतियाको विवाह गराउँछ र जन्ती गउर फर्किन्छ । अगोरीको राजा मोलागत अत्याचारी छ, आततायी छ र लम्पट छ । त्यस राज्यमा जब महरको घरमा मञ्जरीको जन्म भयो तब सुनचाँदीको वर्षा भएको थियो । बुझेर या नबुझेर अति अस्वाभाविक घटनालाई सहज रुपमा समेटीकन बनाइएको विषयवस्तुमा सङ्गीत र छन्दको मोहनी घोलेर मनका भावहरुसमेत मिसाई नचाहिँदो शिल्पबाट अलग रहेर सहज रुपले कथिएको लोकमहाकाव्य लोरिकायन हो । भाषाशैली पनि रचना प्रविधिको आवश्यक अङ्ग हो । जब मञ्जरी बढेर विवाहयोग्य बनी तब उसको बुवालाई चिन्ता हुनु स्वाभाविकै हो— त्यसैले जाति र धर्मको रक्षाका लागि अहिर कुलको वर खोज्छ तर कतै पनि योग्य वर पाउँदैन । मञ्जरीले बुवालाई सल्लाह दिन्छिन् कि गउरको अहिर लोरिकसमक्ष विवाहको प्रस्ताव पठाउन । प्रस्ताव स्वीकार गरी मञ्जरीसँग विवाह गर्न अगोरी आएको लोरिकले मोलागतको सहायक भांट र मोलागतको भान्जा निर्मललाई युद्धमा पराजित गर्छ र पत्नीलाई साथमा लिएर गउर फर्किन्छ ।
लोरिकले अगोरिमा मारेको हाती पूर्वजन्ममा मञ्जरीको बहिनी थियो जो यस जन्ममा मानवबाट हाती बनेकी थाहा हुन आउँछ । एउटा वीर योद्धा आफ्नो सम्पूर्ण लडाइँ लडेपछि विश्राम गर्छ । लोरिकले मञ्जरीसँग विवाह गरेकै थियो तर एउटी अर्की आइमाई चनवाको साथमा भागेर हल्दीमा जान्छ र नयाँ किसिमका विपत्तिहरुको सामना गर्नुप¥यो । तर केही दिनपछि उसको शौर्यले नयाँ चुनौती स्वीकार गर्नुपर्ने भयो । हल्दीमा उसले जग्गु बनजारबाट थाहा पायो कि चनवाको बाबु र छिमेकका थुप्रै वीरले एकै चोटि आक्रमण गरेर मलसांवरलाई मारिदियो । लोरिककी आमा खोइलनी र पत्नी मञ्जरी अरुको घरमा सेविकाको काम गरेर जीवनयापन गर्नुपरिरहेको छ । लोरिकले दुःखित भएर चनवाको साथमा बोहा फर्किन्छ र त्यहाँबाट गउरको स्थितिका बारेमा जानकारी लिन्छ । पत्नीको सतीत्वको परीक्षण गर्छ अनि गउरबाट फर्किन्छ । लोरिकको मञ्जरीतर्फको छोरा भोरिक, चनवातर्फको चन्द्राइत र दाजु मलसांवर–सतियाको छोरा देवाइच गएर छिमेकको पिपरीमा आक्रमण गरेर आफ्नो हरण गरिएका सम्पूर्ण पशु देवसीको कब्जाबाट फर्काएर ल्याउँछ र अन्य शत्रुलाई पनि पराजित गरेर लुटिएका धन पुनः प्राप्त गर्छ ।
४. भूमिकाका दृष्टिले लोरिकायन लोकमहाकाव्यका पात्रहरुको विश्लेषण
आख्यानात्मक लोकमहाकाव्यमा पात्रको गतिविधि वा तिनीहरुको क्रियाकलापलाई भूमिका भनिन्छ । तिनीहरु लोकमहाकाव्यमा प्रमुख, सहायक र गौण वर्गमा रहेर क्रियाकलाप प्रदर्शन गर्छन् । तिनले नै लोकमहाकाव्यलाई जीवन्त र गतिशील तुल्याउँछन् । यस दृष्टिबाट लोरिकायन लोकमहाकाव्यमा लोरिक, मलसांवर, अजयी धोबी, मञ्जरी, चनवा, सतीया, विजवा, दसवन्त, भीम्हली, मोलागत, जग्गु बनजारा, बमरी, निर्मल आदि प्रमुख पात्र देखिन्छन् भने अति गौण तथा प्रमुख पात्रका निकट भइ कार्य गर्ने र कार्यव्यापारका दृष्टिले प्रमुख पात्रको भन्दा कम र गौण पात्रको भन्दा बढी भूमिका भएका अनेक छन् । यसै गरी कतिपय गौण पात्र छन् भने नामोच्चारण मात्र गरिएका र कुनै भूमिका नभएका पात्रहरु पनि छन् । सहायक, गौण र नामोच्चारण मात्र गरिएका पात्रहरुले पनि प्रधान चरित्रलाई प्रकाश पार्छन् । लोरिकायन लोकमहाकाव्यमा निकै धेरै पात्र भएका हुँदा छानिएका सीमित पात्रको भूमिकाको विश्लेषण यहाँ गरिन्छ ।
लोरिक
लोरिक लोरिकायन लोकमहाकाव्यको प्रमुख पात्र हो । उसैको नामबाट यस महाकाव्यको नामकरण गरिएकोले पनि उसको केन्द्रीय महङ्खव पुष्टि हुन्छ । लोकमहाकाव्यको कथानकसँग लोरिकको घनिष्ठ र सिधा सम्बन्ध छ । लोकमहाकाव्यलाई लक्ष्यित उद्देश्यतर्फ उन्मुख गराउन निःसन्देश उसको महङ्खव पुष्टि हुन्छ । जुन पात्रको नाम महाकाव्यमा सबैभन्दा बढी पुनरावृत्ति हुन्छ, त्यसैलाई नै प्रमुख पात्र ठान्दा पनि यस महाकाव्यमा उसलाई उसको वीरता र न्यायप्रियताका कारण प्रशंसापूर्ण रुपमा सम्बोधन गरिएको छ । यसबाहेक तत्कालीन समयमा असाधारण वीरता देखाउने, प्रतिभा भएका कारण गउरको शासक रहेको छ । यस अर्थमा पनि प्रस्तुत लोकमहाकाव्यमा लोरिकको स्थानले महङ्खवपूर्ण सकारात्मक कार्यको परिचय प्रदान गरेको छ । दाजु मलसांवरको विवाह गराउन सोहबल जादा वीर दसवन्त, भीम्हली, सोहबलको सेना, सतीया मदिआइनले ल्याएका अनेकन विपत्तिको सामना गर्नुपर्ने हुन्छ । गउरको समझदार कुप्रो बुढो टिकाइ र खोइलनीको कान्छो छोरा हो लोरिक । उसको दाजु मलसांवर धर्मात्मा छ । त्यस्तै धर्मात्मा सोहबलबाट विवाह गरेर ल्याएको भाउजू सतीया छे ।
लोरिक चनवालाई भगाएर हल्दी बजार गएपछि त्यहाँ जमुनीले देखाएको आतिथ्य सत्कारबाट ऊ निकै प्रभावित हुन्छ र आफ्नो सामथ्र्यले त्यहाँको करद राजा बनेर बस्छ । लामो समयको बसाइको क्रममा उसले हल्दी बजारका १२०० सय युवतीको अनुरोध स्वीकार गरी नेउरापुरका अत्याचारी राजा हरेवाले थुनामा राखेका ती युवतीका १२०० पतिलाई थुनामुक्त गरेर ल्याउने प्रण गर्छ । यसरी लोरिकले सोहबल, अगोरी, लोहगाजर, नेउरापुर, सिरसापुरलगायतमा न्यायको पक्षमा शौर्यपूर्वक कर्तव्य निर्वाह गरेको छ । जग्गु बन्जाराबाट दाजु मलसांवर मारिएको, भाउजू सतिया सती गएको, बाबु टिकाइको मृत्यु भएको अनि छिमेकका शत्रुले बोहाको गाई, गउरको धन सम्पत्ति लुटेर लगेको थाहा पाएपछि गउर फकिन्छ । सरासर गउर नआएर बोहामा केही समय बसेर गउर र वरपरको समाचार सङ्ग्रह गर्छ । यसरी लोरिकले यथार्थ थाहा पाएपछि मञ्जरी, चनवाको साथमा गउर आउँछ । कथानकमा लोरिकलाई दुर्गा माता, वनसती माता, जलपादेवीबाट प्राप्त सहयोग यस लोकमहाकाव्यमा महङ्खवपूर्ण रहेको छ । शौर्यप्रधान लोकमहाकाव्यका नाताले यहाँ लोरिकको चरित्र केन्द्रीय विषय बनेको छ । उसैको नामबाट बज्जी समाजमा लोकमहाकाव्यको नाम रहन गएको छ र यसमा सो समयको हतियार, खानपान, सामाजिक व्यवहार लोकगायकले प्रस्तुत गरेका छन् । लडभिड गर्न सदा अघि सर्ने लोरिकको क्रियाकलापका साथै सो समयको वातावरणका सरलता, स्वच्छता, हार्दिकता र अतिथि सत्कारजस्ता सकारात्मक पक्षको परिचय पाइन्छ । जादुमन्त्रको बलले मन परेको पुरूषलाई वशमा पार्न मोहनी लगाउने क्षमता भएकी अर्कैको विवाहिता चनवाको क्रियाकलापले पनि यो लोकमहाकाव्य गहन बन्न पुगेको छ । अर्को कुरा सो समयमा घर घरमा अखाडा बनाउनुले पनि शौर्यको महङ्खव उजागर गरेको छ र मल्लयुद्धलगायतको युद्धकलामा सामान्यतः सबै दक्ष रहने सङ्केत मिल्छ । समग्रमा भन्नुपर्दा लोरिकायन लोकमहाकाव्यको नायक, करद राजा, न्यायप्रेमी वीरको भूमिकामा उपस्थित छ र उसको भूमिका न्यायप्रेमी वीरका रुपमा सर्वोपरि बनेर आएको छ ।
मञ्जरी
मञ्जरी यस महाकाव्यको प्रमुख नारी पात्र हो । महाकाव्यको चौथोदेखि अन्तिम खण्डसम्म उनको अटुट सम्बन्ध छ । अगोरी राज्यको करद राजा महरबाट षड्यन्त्रपूर्वक राजपाठ मोलागतले खोसेर लिएको थियो । अपदस्त राजा महरको घरमा जन्मिएकी हो मञ्जरी । जन्मँदा सवा घडीसम्म अगोरीमा सुनचाँदी बर्सिएको थियो । सुनचाँदी बर्सिनु शुभ ठानेर त्यहाँको अत्याचारी राजा मोलागतले आमाको काखमै रहेकी मञ्जरीलाई पत्नी बनाउन प्रयत्न गरेको थियो । विवाहयोग्य भएपछि उसैसँग छोरीको विवाह गरिदिने वचन महरिनले बाध्यतावश दिनुपरेको थियो । लोकमहाकाव्यको लक्ष्यित उद्देश्यलाई उन्मुख गराउन मञ्जरीको सबल भूमिका रहेकोले पनि प्रमुख नारी पात्रका रुपमा निःसन्देह यिनको महङ्खव पुष्टि हुन्छ । चारैतिर खोजतलास गरी हार मानेर थाकेका पिता महरलाई आफूमा भएको विशिष्ट शक्तिले मञ्जरीले आफू योग्य वर गउरमा रहेको र ऊ टिकाइ र खोइलनीको कान्छो छोरा भएको जानकारी गराएकी थिइन् । टिकाटालोको विधि पूरा भएपछि सुरवीरका साथमा लोरिकले गउरदेखि जन्ती लिएर आउँछ । स्रोताहरुको सहानुभूति लोकमहाकाव्यमा मञ्जरीप्रति छ । मञ्जरीको भूमिकालाई लोकमहाकाव्यबाट हटाइदिने हो भने यसको संरचना नै लथालिङ्ग हुन्छ । यिनकै माध्यमबाट लोकगायकले करूणरस तथा महिलाको त्याग र कर्तव्य अभिव्यक्त गर्छन् । लोग्ने लोरिकले अर्की आइमाई चनवालाई भगाएर हल्दी लगेपछि त्यस परिवारमा आएको विपत्ति जेठाजु मारिनु, जेठानी दिदी सती जानु, ससुराको देहान्त, शत्रुले चल अचल सम्पत्ति लुटेर लैजानु— यस्तो विषम परिस्थितिमा वुद्धिमतासाथ घरपरिवार धानेर दुई नाबालक हुर्काउनु निश्चय नै सहज कार्य होइन, थिएन— मञ्जरीको बुद्धिपूर्ण कार्य हो आफू, दश ठाउँमा च्यातिएको, टालेको वस्त्र लगाएर, अरुको घरमा चुलोचौकालगायतका काम गरेर भए पनि लोग्नेको नाम र खानदानमा दाग लाग्न नदिनु उसको कर्तव्यशीलता हो ।
लोग्ने लोरिक र सासू खोइलनीले तिनको चरित्रमा शङ्का गरेका छन् । यो सोचनीय छ । मञ्जरीले आफूमा भएको सत् (शक्ति) ले आवश्यक पर्दा र लोग्नेको रक्षा गरेकी छन् । लोग्नेको मृत्युपछि नाबालक ३ जना बालक (जेठानी दिदी सतीयाको छोरा देवाइच, आफ्नो छोरा भोरिक र सौता चनवाको छोरा चन्द्राइत) लाई हुर्काउने मात्र होइन जेठाजु मलसांवरजस्तो ज्ञानी लोग्ने लोरिकजस्तो वीर बनाउँदै करद राज्य गउरको राजपाठ कुशलतासाथ सम्हाल्नाले पनि मञ्जरीको क्षमता र बुद्धिमता पुष्टि हुन्छ ।
चनवा
चनवा पनि यस महाकाव्यको प्रमुख पात्रमध्येमै पर्छ । उसैको मियोमा यस लोकमहाकाव्यका सम्पूर्ण सुखद–दुःखद घटनाहरु सञ्चालित छन् । लोकमहाकाव्यको मुख्य कथानक चनवासँग सम्बन्धित छ । नायक लोरिकले विवाह गर्दिनँ भनी बसेको ठुल्दाजु मलसांवरलाई विवाह गराउने प्रण गर्छ र बल्ल तल्ल मनाएर जन्ती सोहबल पु¥याउँछ । सोहबलका राजा बमरीको प्रण छ आफ्नो देशको कुनै पनि कन्याको विवाह हुन दिन्नँ, कसैले पनि मलाई ससुरो भन्न नपाओस्, मेरा सात भाइ छोरालाई सालो । यस्तो प्रण गरेको राजाकी छोरी सतीया मदियाइनसँग दाजु मलसांवरको विवाह अवश्य सहज होइन । यही कारणले त सतीयाका वीर दाजुहरु दसवन्त र भीम्हली अनी सोहबलका सेनाको ज्यान गएको छ । राजाले बाध्य भएर अन्तमा छोरी सतीया मदियाइनको ऊजस्तै धार्मिक पुरूष मलसांवरसँग विवाह गराइदिन्छ । यति मात्रै कहाँ हो र कुसुमापुर माइती भएकी शिवगढकी पत्नी चनवाले अगोरीबाट भरखरै मञ्जरीलाई विवाह गरेर ल्याएको लोरिकलाई मोहनी लगाएर वशमा पारेर भगाएर हल्दी बजार पु¥याई । आफ्नो उमेर, स्वार्थ, सुन्दरता, वाक्पटुताले हल्दीको भट्टीवाल्नी जमुनीलाई प्रभावित बनाई चनवाले । आफ्नो नखरायुक्त बैँसालु हाउभाउले लोरिकलाई पुतलीझैँ नचाएकी छ । गउरको कुनै कुरा पनि लोरिकको कानमा पर्न नपाओस्— अति विपत्ति बेहोरेकी मञ्जरीले त्यहाँको सम्पूर्ण जानकारी गराउन हल्दी पठाएको गांगी हजामलाई ज्यान मार्ने डर देखाएर थुनेर राख्नाले पनि उक्त कुराको पुष्टि हुन्छ । चनवामा सौतेनी डाह भएकै कारण बोहामा पनि मञ्जरीलाई गलत साबित गर्ने षड्यन्त्र गरेकी छ । अरुप्रति नकारात्मक भए पनि लोग्ने लोरिकलाई खतीहुनबाट बचाएको सिरसापुरको घटनाबाट पुष्टि हुन्छ । विवाहित पति शिवगढको कमजोरी लोरिकलाई बताएर ती दुईको मल्लयुद्धमा लोरिकको जितको कारण बनेकी छ ।
चनवाको कारणले यस लोकमहाकाव्यको कथानक फनक्क घुमेको कुराको पुष्टि हुन्छ । आफ्नो विवाहित लोग्नेलाई बेवास्ता गरी लक्का जवान लोरिकलाई मोहनी लगाई भाग्न बाध्य भएकी वासना पीडित पात्र पनि हो । लोरिकले होली खेल्दा छ्यापेको पिचकारीको रङले वस्त्र भिजाएको कारण लोरिकलाई वासनायुक्त दृष्टिले हेर्नु, मोहनी लगाएर भए पनि लोरिकसँग भागेर गई आफ्नो यौन तृष्णा पूरा गर्नु, विभिन्न प्रकारका षड्यन्त्र रचेर लोरिकलाई आफ्नै वरिपरि रहन बाध्य बनाउनु, सौता मञ्जरीलाई बदनाम गर्न योजना बनाउनु, आफ्नो स्वार्थ सिद्धिका लागि खबर लिएर आएको हल्कारा गांगीलाई थुनेर राख्नु उसको भूमिकाका अँध्यारा पक्षहरु हुन् । लोरिक गउर आएपछि, घाइते भएसँगै लोकमहाकाव्यका कथानकले पनि विश्रान्ति लिन्छ । यसरी हेर्दा लोकमहाकाव्यको अधिकारिक कथानक चनवाकै सेरोफेरोमा केन्द्रित रहेको छ । महाकाव्यको पहिलो खण्डमा चनवाको भूमिका मुखाले आइमाईको छ । उसको भूमिकाले मञ्जरीको जीवनलाई दुःखपूर्ण बनाएको छ । दुःखद घटनालाई अघि बढाउन उसको भूमिका महङ्खवपूर्ण छ । ऊ आफ्नो उद्देश्य पूरा गर्न जुनसुकै उपाय वा षड्यन्त्र रच्न तयार देखिन्छे । उसले षड्यन्त्रपूर्वक लोरिकलाई हल्दी भागेर जाने वातावरण तयार गरिदिएर कथानकको गतिलाई तीव्र बनाएको छ । उसैका माध्यमबाट लोकगायकले आफ्नो गायकीमा त्रिया चरित्र चित्रण गर्ने गरेका छन् । वासनाको कारण उसले निर्वाह गरेको भूमिकालाई हेर्दा तत्कालीन समयानुकूल सुहाउँदो नै देखिन्छ । तसर्थ चनवाको भूमिका प्रभावकारी र उपयुक्त छ ।
दसवन्त
दसवन्त यस महाकाव्यमा खलनायकका रुपमा छ । ऊ लोकमहाकाव्यको पहिलो, दोस्रो र तेस्रो खण्डमा मात्र देखिन्छ । ऊ न्यायलाई भन्दा पिता वमरीको आज्ञालाई बढी महङ्खव दिने आज्ञापालक चरित्रको छ । ऊ देशको रक्षाका लागि सिलहटमा खटिएको सेनापति हो । सिलहटको अखडामा योद्धा पहलवान तयार पार्ने जस्ता कार्य गर्नु नै उसको र भाइ भीम्हलीको मुख्य उद्देश्य हो । दश महिना कठोर तप गरेर ब्रह्माको मन जिती अमर बन्ने वरदान पाएको कारणले गर्दा पिताको आज्ञापालनका नाममा पापकर्म गरेका कारण यस महाकाव्यमा ऊ असत् पात्रका रुपमा प्रस्तुत भएको छ । ऊ सही र गलत अनि उचित र अनुचित थाहा भएर पनि पिताको आज्ञा नै सर्वोपरि ठानेर गलत र अनुचित काम गर्न हिचकिचाउँदैन । पिताको वचन पालन गर्न सम्पूर्ण ध्यान केन्द्रित गरेकोले उसको चेतना अन्धो छ । दसवन्त पिता वमरीको अति नै विश्वासिलो पात्र हो । वमरीको पत्यारिलो भएकै कारण ऊ पिताले बोलाउनासाथ आइपुग्छ । वमरीको विश्वासिलो पात्र बनेको दसवन्तले सत्य कुरा जानकारी गराउँदा पनि स्वीकार गर्दैन, उल्टै बम्किन्छ । भाइ झिँगुरीले बहिनी सतियाको विवाह मलसांवरसँग गराउन निम्ता दिएको कुरा पुष्टि भएको जानकारी गरायो र पिता वमरीलाई तत्काल तिलकको विधि पूरा गरिदिन अनुरोध ग¥यो । उसको रायसल्लाह पिता वमरीले स्वीकार नगरेर ब्रह्मासँग अमर वरदान प्राप्त गरेको उसलाई नाना भाँतीको आरोप लगाएर कायर देखाउन खोज्यो । अमर बन्ने वरदान पाए पनि अन्यायलाई प्रोत्साहित गर्न लोरिकसँग लड्न जाँदा मारिने कुरामा विश्वस्त भएर पनि लड्न गएको छ । राजा (शासक) को यस्तो नचाहिँदो जिद्दीका कारण दसवन्त मारिएको पुष्टि हुन्छ । पिताको अनावश्यक आज्ञापालन गर्दा असम्भव मृत्युको वरदान पाएको एउटा वीरको मरण यसरी पनि हुँदो रहेछ भन्ने यस लोकमहाकाव्यमा देखाइएको छ । समष्टिमा भन्नुपर्दा वीर दसवन्त सत्यको पक्ष लिन नसक्ने कर्तव्यच्युत र गैरजिम्मेवार पात्रका रुपमा यस महाकाव्यमा उपस्थित छ । सिलहटमा बसेर बाहिर देशको आक्रमण रोक्न तम्तयार बस्नुको सट्टा आफ्नो उत्तरदायित्व र कर्तव्यलाई भुलेर अत्याचारी पिताको अनावश्यक झमेलामा अमर हुने वरदान पाएको भाइलाई पनि ल्याएको छ । उसको सम्पूर्ण कार्य अनैतिकलाई प्रोत्साहित गरेको देखा पर्दछ । यस लोकमहाकाव्यमा उसको भूमिकाले कथावस्तुलाई शोकमय बनाउन मद्दत गरेको छ । लोकमहाकाव्यको दुःखद घटनालाई अघि बढाउन उसको भूमिका महङ्खवपूर्ण छ । पिताको आदेश पालन गर्न ऊ जस्तोसुकै युद्धमा सहभागी हुन तयार छ । उसको परिवारमा वियोग र मानसिक विचलन ल्याउन पिताको अनुचित आदेश पालन गर्नु दसवन्तको ठुलो कमजोरी हो । पिताको आदेशले भए पनि द्वन्द्व तथा सङ्घर्षको वातावरण तयार गरिदिएर कथानकको गतिलाई तीव्र बनाइएको छ । तुलनात्मक रुपमा उसले खलपात्रका रुपमा खेलेको भूमिका समसामयिक परिस्थितिअनुसार उचित ठहरिन्छ ।
राजा निर्मल
राजा निर्मलको भूमिका सत् पात्रका रुपमा देखिन्न । उसको उपस्थिति पाँचौँ खण्डमा छ । विजयपुरका राजा निर्मल विवाह गरेकी पत्नीलाई दोङ्गा विधि सम्पन्न गरी लिएर आउन लोहागांजर गएको छ । निर्मलको मामा मोलागत अत्याचारी छ, अगोरीको राजा महरलाई छलबलपूर्वक अपदस्त गरी राजा बनेको छ । अपदस्त राजा महरको घरमा छोरी मञ्जरी जन्मँदा सवाघडीसम्म सुनचाँदीको वर्षा भएका कारण भरखर न्वारन भएकी नवशिशुसँग विवाह गर्छु भनेर हातमा धागो जबरजस्ती बाँधिदिएको छ । राज्य शक्तिको आडमा राज्यका छोरीबुहारीको इज्जत लिने काम गर्छ । किशोरी अवस्थामा पुगेकी मञ्जरीको विवाह गउरको वीर लोरिकसँग भएको हुँदा महरले बिदा गरेर पठाएको डोली लुटेर ल्याउने दायित्व निर्मललाई सुम्पिन्छ । मामा मोलागतको षड्यन्त्रमा परेर बिच बाटोबाट नै निर्मल अगोरीमा आउँछ । यति मात्र नभएर लोरिककी विवाहिता पत्नी मञ्जरीको डोली खोसेर ल्याएर कामुक मोलागतको जिम्मा लगाउन लड्न तयार हुन्छ । निर्मल पनि ब्रह्मा भगवान्बाट वरदान पाएर अमर छ र संसार ध्वस्त पार्न सक्ने ५ ओटा शक्तिवाण–अग्निवाण पाएको छ । राज्य चलाउन छाडेर अत्याचारी कामुक मामाका लागि अर्काकी विवाहिता हरण गर्न दुस्साहस देखाउने कार्य सकारात्मक पक्ष होइन । जे होस् उसको भूमिका छोटो तर वीरतापूर्ण छ ।
विजवा
विजवा लोरिकायन लोकमहाकाव्यकी सहायक सत् नारी पात्र हो । ऊ यस महाकाव्यमा नायक लोरिकको उद्देश्य प्राप्त गर्ने साधनका रुपमा प्रस्तुत भएकी छ । सोहबलमा खेदु धोबीको घरमा जन्मिएकी विजवा बुद्धिमान्, कल्पनाशील, चतुर र साहसी छ । महाकाव्यमा उसको उपस्थिति पहिलो खण्डदेखि छ । महाकाव्यलाई लक्ष्यित उद्देश्यतर्फ उन्मुख गराउन विजवाको सबल भूमिका छ ।
जुन पात्रले कथानकमा नायकलाई साथ दिएको हुन्छ वा नायकको पछि लागेको हुन्छ, त्यसलाई सहायक पात्र भनिन्छ । प्रस्तुत महाकाव्यमा कथानकको प्रारम्भदेखि विजवा नायक लोरिकको समर्थनमा रहेकी छ । ऊ वमरीको अत्याचार समाप्त गर्न मलसांवर र सतिया मदियाइनको विवाह गराउने दिशाबोध गराएर आजीवन विवाह नगर्ने भनी बसेका मलसांवर र सतियाको विवाह गराउन सफल भएकी छ । लोरिकले चनवालाई भगाएर हल्दी गएपछि विपत्तिमा परेको त्यस परिवारसँग गाउँका अरुले सम्बन्ध नराखे पनि विजवाले साथ दिएको छ । उसैको साहस, बुद्धि र चतु¥याइँले लोरिकको परिवारमा ठुलो अनिष्ट टरेको छ । शत्रुहरुले मञ्जरीको जेठाजुलाई मारेर सम्पूर्ण चल अचल सम्पत्ति लुटेर लगेका कारण विपन्न त्यस परिवारलाई सकेको सहयोग गुप्त रुपमा गरेकी छ । विपत्तिमा परेको लोरिकको परिवारलाई गाउँव्यवहारका कारण पति अजयीले सहयोग गर्न नचाहँदा कायरको संज्ञा दिएर भए पनि मनाउन सफल भएकी छ ।
राजा वमरी सोहबलकी कन्याहरुलाई विवाह गर्नबाट रोकेको थियो । विजवा पनि विवाह हुनबाट बचेकी थिई । सोहबलमा विजवाले राजा वमरीकी छोरी सतीया मदियाइनको लुगा धुने काम गर्थी । विजवाको व्यवहारबाट प्रभावित भएकी सतीयाले योग्य वर पाएपछि पिताको फरमान विरूद्ध खेदु धोबीलाई मनाएर अति गोप्य तरिकाले सोहवरमा गाई चराउने अजयी धोबीसँग विवाह गराई । विवाहपछि गउर गएकी विजवाको उत्साहपूर्ण कार्यकलापले गर्दा चरित्रमा नारीसुलभ कोमलता र आवश्यकता पर्दा पुरूषसुलभ वीरताको भावना भरिएको अनुभव हुन्छ । वस्तुतः यस महाकाव्यको निर्दिष्ट फल प्राप्तिका लागि विजवाको भूमिका निर्णायक छ । अपेक्षाकृत झल्याकझुलुक देखिए पनि फलप्राप्तिप्रति सक्रियताका साथ संलग्न रहेकी विजवाले प्रस्तुत महाकाव्यमा कतिपय पात्रका तुलनामा उत्कृष्ट भूमिका निर्वाह गरेको देखिन्छ ।
जमुनी
हल्दी बजारकी जमुनी यस महाकाव्यको सहायक सत् पात्र हो । महाकाव्यको छैठौँ र सातौँ खण्डमा मात्र देखा परेकी लोरिक र चनवालाई सहयोग गर्ने ज्यादै नै विश्वासिलो पात्र हो । हल्दीमा रक्सी बेच्दै गरेको देखिएकी जमुनी सहयोगी, शान्त र विचारशील देखिन्छे । चनवालाई भगाएर ल्याएको लोरिक नेवलापुर गएर त्यहाँका अत्याचारी राजा हरेवाले हल्दीका १,२०० युवालाई अनाहकमा थुनेर राखेको हुँदा तिनीहरुलाई मुक्त गराएर ल्याउने कुरा थाहा पाएर अब मारिने भो भन्ने चिन्ताले ज्यादै चिन्तित छ । उसले लोरिकलाई हल्दीमा कसरी सदा सदाका लागि रोकेर राख्न सकिन्छ भनी चिन्तन गरेकी छ । जमुनीले भनेपछि उसको लोग्ने महिचनले हल्दीका राजा महुअरीलाई सम्झाएर लोरिकलाई गाउँभरिको गाई चराउने काम पाउँछ । वीरताका कारण हल्दीको राजा बनेको लोरिक गउर प्रस्थान गर्दा आफूलाई केही जानकारी नगराएको कारण जमुनीले मन्त्र प्रहार गरी हल्दीको सीमाभन्दा बाहिर जान नसक्ने बनाइदिन्छ । जमुनी व्यवहारकुशल र सहयोगी पात्रका रुपमा देखिएकी छ । लोरिकको वीरता देखेर खुसी हुन्छ । जमुनीले ज्यादै छोटो अवधिमा पनि फल प्राप्तिमा निर्णायक भूमिका खेल्ने पताकास्थानक प्रतिभाको कार्यमा उसको निश्चित संलग्नता रहेकाले फलागममा अप्रत्यक्ष सहयोग उसबाट भएको छ । यसर्थ यस महाकाव्यको सहायक पात्र जमुनीलाई हल्दीबाट गउर जाने बेलामा त्यहाँका जनतालाई साक्षी राखेर राजपाठ हस्तान्तरण गरेको पाइन्छ ।
वमरी
वमरी यस महाकाव्यको खल पात्र हो । महाकाव्यको पहिलो र दोस्रो खण्डमा देखा परेको वमरी सोहबलको अत्याचारी राजा हो । उसको दसवन्त, भीम्हली, झेँगुरीजस्ता सात भाइ वीर छोरा र सतिया मदियाइन जस्ती सात छोरी छन् । आफूलाई कसैले ससुरा र छोरालाई सालो भन्न नपाओस् भनेर राज्यकी युवतीलाई फरमान जारी गरी विवाह गर्नबाट बलजफती रोकेको छ । उसको यही हठका कारण ब्रह्माबाट अमरताको वरदान पाएको अति शक्तिशाली छोराहरु दसवन्त र भीम्हली मारिए । उसको हठले गर्दा सोहबलका सेनालाई लोरिकले सोतर बनायो । यस महाकाव्यमा उसले आफ्नो उत्तरदायित्व जनताप्रति नभएर नचाहिँदो हठी रुपमा देखा परेको छ । असल कार्य गर्ने मान्छे मात्र यहाँ जीवित रहनुपर्छ खराब काम गर्ने या खराब कामको पक्षमा उभिनेको विनाश हुन्छ । यो कुरा राजा वमरीबाट स्पष्ट हुन्छ । ज्यादै हठी र नकारात्मक पात्रका रुपमा राजा वमरी छ । कथानायक लोरिकले उसका वीर दुई छोरा र सेना मारिसकेपछि केही सीप नलागेर मलसांवरसँग छोरी सतिया मदियाइनको विवाह गराइदिन्छ । राजाको जीवन जनताको हकहितप्रति सहयोगी बन्नुपर्नेमा नचाहिँदो हठ पाली जनतालाई अन्याय गर्ने अत्याचारी राजाको भूमिका वमरीले खेलेको देखिन्छ ।
मोलागत
मोलागत लोरिकायन लोकमहाकाव्यको चौथो र पाँचौँ खण्डमा देखा परेको खलपात्र हो । यस महाकाव्यमा उसको अत्याचारी, दूराचारी, षड्यन्त्रकारीको भूमिका हुनाले ऊ खलपात्र हो । उसले अगोरीका राजा महरबाट षड्यन्त्रपूर्ण तरिकाले राज्य खोसेको देखा परेको छ । राज्यका छोरीबुहारीको इज्जतसँग खेल्नु उसले अधिकार ठानेको छ । यस्तो अन्याय पनि अगोरीका मानिसले चुप लागेर सहेको छन् । जन्मँदा सवाघडी सुनचाँदीको वर्षा भएको मञ्जरीसँग विवाह गर्छु भनी भरखर न्वारन भएकी शीशुको हातमा धागो बाँध्न ऊ जान्छ । उसको जीवन नै स्त्री भोगमा अडेको छ । गउरको अहिर लोरिकले मञ्जरी विवाह गरेर जिरउलमा बसेको थाहा पाएपछि दुलहीको डोली लुटेर दरबारमा भित्र्याउने षड्यन्त्र गरेको छ । आधा राज्य पाउने लोभमा मञ्जरीको डोली लुट्न गएको भटउल वरमपुरको रम्पा भाटको लोरिकले करङ खुस्काइदिएको छ । भवरानन्द नामको मत्ता हात्तीलाई मारिदिएको छ । करनी नाम गरेकी ढोइ हात्तीको सुँढ काटिदिएको छ । अत्याचारी दुराचारी राजा मोलागतको वीर भान्जा निर्मल पनि अन्तत मारिएको छ । लोरिकको हातबाट मोलागतको अन्त भएबाट दुराचारीका पक्षमा उभिँदा जस्तै वीरको पनि विनाश हुन्छ भन्ने पुष्टि भएको छ । षड्यन्त्रपूर्वक अपदस्त बनाइएको महर पुनः अगोरीको राजा बन्छ । स्त्रीलम्पट कामुक मोलागत मारिएपछि अगोरी शान्त बन्छ । समष्टिमा भन्नुपर्दा उसबाट अत्याचारी, दुराचारी र षड्यन्त्रकारी भूमिका निर्वाह भएको छ ।
राजा हरेवा
राजा हरेवा लोरिकायन लोकमहाकाव्यको छैठौँ खण्डमा मात्र देखा परेको खलपात्र हो । उसको भूमिका अत्याचारी राजाका रुपमा देखिएकोले ऊ खल पात्र हो । हल्दीका १२ सय युवा कामको खोजीमा उसको राज्य नेवलापुरमा आएको हुँदा लामो समयदेखि जेलमा थुनेर राखेको छ । आराध्य देवी जलपालाई पनि अत्याचारी शासन टिकाउने माध्यम बनाएको छ । उसको सुरक्षाको साधनमा कालो अरिङ्गाल, जहरिला कुकुर, महाजाल राखेबाट पनि उसको चरित्र बुझ्न सकिन्छ । अत्याचारी राजा हरेवाको साथ कुलदेवी वजपा र मन्त्री रङ्गुले छाडेका छन् । लोरिकको हातबाट अत्याचारी राजा हरेवाको शिरछेदन भई १२०० बन्दीको उद्धार भएबाट ऊ खलपात्र भएको बुझिन्छ ।
जग्गु बनजारा
जग्गु बनजारा घुमन्ते व्यापारी हो । ऊ प्रायः हल्दी बजारमा व्यापार गर्न सयकडौँ गाडामा सामान पठाउँछ । यसबाट सो समयमा उसको कति हैसियत थियो भन्ने पुष्टि हुन्छ । महाकाव्यको कथानकसँग जग्गु बनजाराको घनिष्ठ र सिधा सम्बन्ध देखिन्न । महाकाव्यलाई लक्ष्यित उद्देश्यतर्फ उन्मुख गराउन उसको भूमिका निःसन्देश महङ्खवको छ । उ मलसांवरको मित्र हो । उसलाई व्यापार गर्न सामान ल्याउन लैजान चाहिने बलिया बाङ्गा गोरूहरु चाहिरहन्छ । मलसांवरको विवाह गराउन गएको जन्ती जब छलवश सोहबलको मोतीसगरघाटमा मारिए तब लोरिकलाई अति ठुलो सहयोग गरेबाट पनि उसको भूमिका बुझिन्छ । यस अर्थमा पनि प्रस्तुत महाकाव्यमा जग्गु बनजाराको स्थान महङ्खवपूर्ण छ । व्यापारका क्रममा देशविदेश गरिरहने जग्गु बनजाराले बोहामा पडाव राख्दा दयनीय अवस्थामा मञ्जरीलाई भेट्छ र सम्पूर्ण कुरा थाहा पाउँछ । जस्तालाई तस्तै भनेजस्तै कर्तव्य बिर्सिएर चनवालाई भगाएर हल्दीमा शासन गरी बसेको लोरिकलाई गउरको यथार्थ जानकारी गराएर घर जान पर्ने बोध गराउँछ । यथार्थ थाहा पाएपछि लोरिक गउर फर्किन्छ । समग्रमा भन्नुपर्दा घुमन्ते व्यापारी जग्गु बन्जाराको भूमिका सहयोगी सत् पात्रका रुपमा छ ।
दुर्गा माता
दुर्गा माता मानवेतर पात्र हुन् । महाकाव्यको दोस्रो खण्डदेखि अन्तसम्म उनको लोरिकसँग अटुट सम्बन्ध देखिन्छ । पृथ्वीमा आएकी सात बहिनी देवीमध्येकी एक देवी हुन् यिनी । पृथ्वीमा आएकी सात बहिनी देवीमध्ये कोही गजाधर, कोही प्रयाग, कोही पर्वतमा बसे । त्यहीँ तिनीहरु पुजिँदै आएका छन् । कुनै देवी माझीको साथ लागेर डुङ्गा चलाएर मानिसलाई सहयोग पु¥याइरहेका छन् । कोही ब्राह्मणको साथ लागेर पात्रो पढ्न सहयोग गर्दै आएका छन् । दुर्गा माता र वनसती माताले कहाँ जाने भन्ने मेलो नपाएको हुँदा घुम्दै फिर्दै गाईको बथान भएको बोहा पुगे । लोरिकको दाजु मलसांवरले स्वागतसत्कार गरी गाईको दुध जति खुवाउँदा पनि दुर्गा माताको पेट भरिएन । तब लोरिकले दाहिने तिघ्रा चिरेर अघाउन्जेल रगत खान दिए । त्यसपछि मात्र दुर्गा माताको पेट भरियो । तब दुर्गा माताले भनेकी थिइन्, ‘ए लोरिक जहाँ तेरो पसिना खस्छ त्यहाँ म रगत बगाइदिन्छु ।’
हुन पनि हो यस महाकाव्यमा दुर्गा माताको सहयोग पाएर नै लोरिक नायक बन्न सकेको यथार्थ हो । त्यही मानिस रिसाएको सुहाउँछ जसले बढी माया गर्छ । लोरिकको मन बढेको हुँदा दुर्गा माता रिसाएको प्रसङ्ग पनि बडो रोचक छ । साथमा रहेकी वनसती बहिनीले सम्झाएपछि दुर्गा माता पुनः लोरिकको पक्षमा आएबाट यस महाकाव्यमा मानवेतर पात्रका रुपमा दुर्गा माताको फलागमप्रतिको कार्य पुष्टि हुन्छ ।
मंगर घोडा
मंगर घोडा लोरिकको सहयोगी हो । मंगर घोडाको गहिरो सम्बन्ध कथानकसँग छ । यो नेउरापुरको लिलिया घोडीको छोरा हो । पंच कल्यानी घोडाको सन्तान हो । यो जन्मँदा पण्डितहरुले राजा हरेवालाई भनेका थिए, ‘घोडा नेउरापुरमा बाँच्यो भने राजा मारिने छ ।’
भरखर जन्मिएको मंगर घोडालाई नाङ्गो तरबार लिएर मार्न आएको राजा हरेवालाई बाटोमा रानीले सम्झाएकी हुँदा बढईलाई बोलाएर काठको बाकस बनाउन लगाएर त्यसमा राखेर डुबोस् भन्ने कामना गरी नदीको बिच धारमा बगाइदिएको थियो । घोडा बग्दै बग्दै हल्दीमा आयो । तब राजा महुअरीले बाकस समात्न लगाएर खोलेपछि घोडाको उद्धार भयो । जब मंगर घोडा जवान भयो, राजा महुअरीले मुखमा लगाउन सुनको लगाम, पिठ्युँ सुहाउँदो काठी, गोडामा बाँध्न घुघुरू, पुच्छरमा मुगामोतीले सजाएर साइत निकालेर सवार हुन चाह्यो । आफू योग्य सवार नपाएको हुँदा मंगर घोडाले दाँतले टोक्न र लातले हान्न थाल्यो । अन्ततः घोडालाई खाल्डोमा खसालेर मुखमा ताला झुन्ड्याइदियो । युद्ध गर्न नेउरापुर जान चाहेको लोरिक आफू जस्तै वीर घोडाको खोजीमा थियो । अन्ततः लोरिकका लागि जन्म लिएको मंगर घोडाका कारण लोरिकले नेउरापुरको लडाइँ जित्यो । सिरसापुरमा लोरिकको ज्यान बाँच्यो । लोरिकलाई निकै सहयोग पुगाएको मंगर घोडा मान्छेजस्तो बोल्ने मात्र होइन आकाशमा उड्न पनि सक्थ्यो । मंगर घोडाले आफ्नो वीरता नेउरापुरको लडाइँमा राजा हरेवाको सेना ध्वस्त पारेर देखाएको थियो । उसले मानवेतर पात्रका रुपमा निर्वाह गरेको भूमिकालाई हेर्दा सुहाउँदो देखिन्छ । तसर्थ मानवेतर पात्रका रुपमा मंगर घोडाको भूमिका प्रभावकारी र उपयुक्त छ ।
कार्यमूल्यका दृष्टिले भूमिका भएका, नभएका, गौण तथा नामोच्चारण गरिएका अजयी धोबी, सिरसापुरका राजा करनी, झेँगुरी, टिकाई, अगोरीका अपदस्त राजा महर, हल्दीका राजा महुअर, हरदोइ नाग, कुनुपी, खेदु धोबी, देवसी, नोनवां, भिम्हली, रङ्गुबारी, खोइलन, गांगी, वनसतीदेवी, बंठा चमार, सतिया मदाइनलगायत अन्य पात्र पनि यस लोकमहाकाव्यमा छन् । तिनीहरुको उपस्थिति नभएको भए यस महाकाव्यको मूल कथा अगाडि बढ्न सक्ने थिएन ।
५. निष्कर्ष
लोरिकायन लोकमहाकाव्यमा अहिर जातिका वीर लोरिकको वीरता मूल कथ्यका रुपमा छ । प्रमुख शत्रुको अन्याय, अत्याचार र व्यभिचार ध्वस्त पारिनुले लोकगायकले स्रोतामा कुनै किसिमको व्यभिचार र अत्याचार टिक्न नसक्ने विचार प्रतीकात्मक रुपमा प्रकट गरेका छन् । विवाहिता पत्नी हुँदाहुँदै अर्कैकी विवाहितासँग भाग्नुले सो समयमा बहुविवाह र पोइल जाने प्रचलन रहेको देखिन्छ । समाजमा दूषित वृत्तिका मात्र होइन सरल, स्वच्छ र निश्छल व्यवहार भएका ग्रामीण रहेको स्पष्ट सङ्केत यस लोकमहाकाव्यमा छ । मौका पाउनासाथ इज्जत र धनमाल लुट्न पछि नपर्ने कुरा घटनाहरुबाट प्रष्ट हुन्छ । जन्मेपछि मर्नुपर्छ, वीरको पनि अन्त हुन्छ र कपटपूर्ण तरिकाले भए पनि वीरलाई मारी छाड्दा रहेछन् भन्ने स्पष्ट हुन्छ ।
सन्दर्भसूची
गिरी, शीतल (२०६३) प्रसङ्गवश, रौतहट: रश्मि प्रकाशन समूह, गौर ।
गिरी, शीतल (२०७०) बज्जि र बज्जिका, काठमाडौँ: नेपाल प्रज्ञा–प्रतिष्ठान ।
गिरी, शीतल (२०८१) बज्जि संस्कृतिमा लोरिकायन, काठमाडौँ: नेपाल प्रज्ञा–प्रतिष्ठान । (अप्रकाशित अनुसन्धान)
गुप्त, माताप्रसाद (सन् १९६८) चांदायन, आगरा: प्रामाणिक प्रकाशन, भारत ।
दास, श्रीकृष्ण (सन् २०१३) लोक गीतोँ की सामाजिक व्याख्या, इलाहावाद: साहित्य भवन प्राइवेट लिमीटेड, भारत ।
Facebook Comments Box


