हरि कट्टेल

शर्मा सर, प्रेम सर, देवान सर र म एउटै कार्यालयमा काम गर्थ्यौं । शर्मा सर पण्डित्याईँ पनि गर्नुहुन्थ्यो । त्यसैले उहाँलाई हामी गुरू भन्थ्यौँ । उहाँ खैनी खुब खानुहुन्थ्यो । खैनी भनेपछि हुरूक्क हुने उहाँ खैनी किन्न दाम चाहिँ खर्च गर्नु हुन्नथ्यो । एक दिन कार्यालय सकिनेबितिक्कै प्रेम, देवान र म कार्यालयछेउको होटलमा पस्यौँ । त्यहाँ चिया चाउचाउदेखि झोलमोलसम्म सबै पाइन्थ्यो । कार्यालयछेउको चिनजानको होटल हुनाले हामी थकान र भोकतिर्खा मेट्न दिनको एक दुईपटक त्यहाँ जान्थ्यौँ । होटलमा पस्नेबित्तिकै प्रेम सरले बट्टाको बङ्गाली खैनी निकाले । मैले पनि हात थापेँ । खैनी अलि सुक्खा रहेछ । देवान सरलाई सुक्खापन हटाउने तरिका थाहा रहेछ । उनले पसल्नी बैनीसँग अलिकति लोकल मागेर केही थोपा खैनीको बट्टामा मिसाए । खैनी रसिलो भयो । उत्तिखेरै शर्मा सर पनि आउनुभयो । मैले हतारिएर भनेँ, ‘बट्टा छिटो राख यार । अब बर्बाद भयो, शर्मा गुरूले खैनी माग्छन् हामीले यो मिसायौँ ।’
शर्मा गुरू ‘साथीहरु त अघि नै पो’ भन्दै भित्र पसेर सम्मुख हुने गरी बस्नुभयो । खैनीको बट्टा प्रेम सरको हातमै थियो । गुरूले भन्नुभयो, ‘खैनी छ ? मलाई पनि एक डोज देऊ देऊ ‘!
गुरूले यति भन्नेबित्तिकै प्रेमले भने, ‘गुरू ! खैनी त छ तर गुरूले खान मिल्ने खालको छैन । गुरू चोखो बाहुन । अलि सुक्खा भएछ अनि रक्सी मिसाएको पो छ ।’
शर्मा गुरूले खिस्स हाँस्दै भन्नुभयो, ‘आ आखिर दुवै गन्हाउने नै त हुन् नि ! त्यही पनि लेऊ न है खाऊँ ।’

Facebook Comments Box

Similar Posts