घनबहादुर थापा

नेपाली सिने जगत्मा नाम चलेकी अभिनेत्री हुन् रुपमती । चलचित्रका दर्शक भन्थे, ‘आहा ! हिरोनी हुन् त रुपमतीजस्ती ! नाम चल्ने कलाकार हुनलाई साडीचोलीमै पनि सकिन्छ भन्ने पुष्टि रुपमतीले गरेकी छन् ।’
उनको शरीर र सौन्दर्यभन्दा बढी चर्चा उनको कलाको हुने गथ्र्यो । तर एक बिहान, सहरले उनलाई अर्कै आँखाले हेर्न थाल्यो ।
घरको छतमा शनिबारको घाम फैलिएको थियो । रुपमती हतारमा थिइन्– काम, मिटिङ, स्क्रिप्ट सबै दिमागमा दौडिरहेका थिए । ‘आफ्नै छत त हो’ भनेर सोच्दै धोएका लुगा सुकाउन छोटो कट्टु लगाएर उनी छतमा गइन् । धोएका कपडाबाट पानी चुहिरहेको थियो । उनले साडीलाई फिँजाएर डोरीमा सुकाइन् ।
त्यो क्षण सामान्य थियो, निर्दोष थियो तर तल कतै, कसैको क्यामेरा सक्रिय थियो ।
साँझ पर्दासम्म उनी खलपात्र बनिसकेकी थिइन् । सामाजिक सञ्जालमा फोटो छ्यापछ्याप्ती थियो– शीर्षक थियो, ‘अभिनेत्रीको कामुक पोज ।’ छिमेकीको फुसफुसाहट, अपरिचितको कानेखुसी, सबैले उनलाई घोचिरहेका थिए । कसैले छत देखेन, कसैले हतार देखेन, कसैले परिस्थिति बुझेन । मानौँ उनी छतमा होइन, बजारमा उभ्याइएकी थिइन् ।
रुपमतीले एक छिन आफैसँग सोधिन्, ‘के म गलत थिएँ ?’ प्रश्न अनुत्तरित रह्यो ।
अन्ततः उनले बुझिन्– गल्ती उनका कपडामा थिएन । दोष उनको शरीरमा थिएन । दोष त त्यो आँखामा थियो, जसले निजी क्षणलाई तमासा बनायो ।
त्यस दिनदेखि रुपमतीको मनमा एउटा निष्कर्ष जमेर बसेको छ, ‘महिलालाई नङ्ग्याउने कपडा होइन, दृष्टि हो । छलकपट शरीरले होइन, आँखाले गर्छ ।’

Facebook Comments Box

Similar Posts