सुरेन्द्रलाल भुजु

मेरो विवाह हुँदा ससुरालीको घर असननजिक सडकको छेउमा थियो । सलाईको बट्टा आकारको थोरै मोहडा भएको पाँच तल्ले घर थियो । समयान्तरमा ससुराली ललितपुर सानेपाको अलि फराकिलो फाँटमा सर्यो । ससुराली घर सरे पनि त्यो एरिया नगएको धेरै भएको थियो । धेरै समयपछि सानो काम विशेषले त्यो एरियामा गएको थिएँ । धेरै परिवर्तन भइसकेको रहेछ ।
हाम्रो ससुराली घरसगै हंसमान साहुको ठुलो घर थियो । जमिन तलामा तीन तीनओटा काठका कवल भएका तीनओटा पसल थिए । पहिलो तल्लामा चारओटा आँखीझ्याल थिए । माथि चोटामा कलात्मक बुट्टा भरिएको सँझ्या थियो । त्यो झ्यालमा बसेर बेला बेलामा हंशमान साहु क्वारर क्वारर आवाज आउने गरी तमाखु खान्थे । झिंगटीले छाएको छानो, भित्र ठुलो चोक, चोकपछाडि बारी, बारीमा भोगटे ˚ल्थ्यो । सब गरेर एकडेढ रोपनीको ठुलो एरिया थियो ।
हंशमान साहुका बाजे ल्हासाका व्यापारी थिए । बुबाको पालासम्म पनि जारी थियो । ल्हासामा राजनीतिक परिवर्तन भएपछि छाडे । हंशमान साहुले आयात प्रतिस्थापन हुने उद्योग खोलेका थिए । देशकै प्रतिष्ठित उद्योगी थिए । उद्योगीमा कहिल्यै विवादमा नआउने मिस्टर क्लिन थिए । धर्मप्रति आस्था राख्थे र पञ्चायतकालमा राजसभाका सदस्य थिए । समाजसेवामा पनि रूचि राख्थे । टोलमा सबैले सम्मान गर्थे । बेला बेलामा नेवारी परम्पराअनुसार चोकमा सुकुल भोज खुवाउँथे । पुख्र्यौली साहु भए पनि घमन्ड पटक्कै थिएन ।
चारपाँच वर्षपछि जाँदा हंशमान साहुको घरको ठाउँमा अग्लो झिलिमिली टावर बनेको थियो । मनमनै सोचेँ, ‘एउटा सुन्दर सम्पदा मासिएछ । व्यापारीको जग्गालाई व्यापारिक प्रयोजनमा प्रयोग गरेछन् । आउँदाजाँदा बोल्ने एक जना हंशमान साहुकै नातेदारसँग आँखा जुध्यो । नमस्कार गरेँ । औपचारिक भलाकुसारीपछि मैले भनेँ, ‘हंशमान साहुले त भव्य टावर बनाउनुभएछ त ।’
‘कहाँ हंशमान साहुले बनाएको हुनु नि !’ उनले आश्चर्य प्रकट गरे ।
‘कसले बनाएछ त ? त्यत्रो साहुले बेच्नु त नपर्ने हो ।’ मैले भनेँ
उनले भने, ‘नहुनु भयो नि । हजुरलाई था’ छैन र ? त्यत्रो पत्रपत्रिकामा समेत आएको कुरो । द्वन्द्वकालमा दरबारियाको उद्योग भनेर बम पड्काए । हड्ताल गरे । उद्योग बन्द भो । उद्योग बैङ्कले लिलाम गर्यो । साहुका कान्छा छोरा परिवारसहित पहिला अमेरिका गयो । पछि माइलोको परिवार पनि गयो । उद्योग बन्द भए पनि व्यापार चल्दै थियो । सुर्ताले बुढा बिते । एक वर्षको अन्तरालमा बुढी पनि बिती । जेठाका छोराछोरी पनि एक जना लन्डन गयो । अर्को अस्ट्रेलिया गयो । जेठाका बुढाबुढी बस्थे । केही समय उनीहरु पनि विदेश छोराछोरीकामा बसेर आए । जेठाकी बुढी क्यान्सर लागेर मरी । जेठाले एक जना झुनझुनवाला भन्ने माडेलाई जग्गा बेच्यो । अहिले त्यो घर एक जना नाम चलेका क्रान्तिकारी नेताको नाममा छ भन्छ नाम त थाहा भएन ।’ उनले एकै सासमा सम्पूर्ण कहानी सुनाए ।
मनमनै सोचेँ र उनलाई भनेँ, ‘देशमा परिवर्तन त ठुलै भएछ ।’

Facebook Comments Box

Similar Posts