- सन्तोष पौडेल
आँखाले
सियो उध्न नसक्ने उमेरसम्म
मैले खिपेकै हो लुगा
र बचेकै हो तिम्रो शरीरको इज्जत
मैले नै सिएको हुँ
हावामा फरफराइरहने
यो देशको झन्डा
हेर, कसरी बोकिरहेको छ
यो देशको सान
कामीले पिटेरै इस्पात
धारिलो बनेको हो
कुटोकोदालो र फाली
र फलेकै हो मुरीका मुरी फसल
बिर्सेर औजार, बिर्सेर अनाज
कसरी पिट्न सक्छौँ
फलामझैँ मान्छे ?
सार्कीले बनाएकै जुत्ता सिउरेर खुट्टामा
जीवनको अहोरात्र यात्रा हिँडेकै हौँ
जुलुसमा उर्लेकै हौँ, विद्रोह गरेकै हौँ
सायद, पैतलाले यतिबेला
बिर्सिसकेको छ जुत्ताको साथ
जसरी मान्छेले बिर्सेको छ
मान्छेकै अस्तित्व
अब, मलाई भने जान्न मन छ
जातपातको नाउँमा
बलि चढिरहँदा मान्छे
देश कसरी दर्शक मात्र हुन सक्छ ?


