अभय श्रेष्ठ
पातै झरे अर्को वर्ष फेरि आउला
रूखै ढले कहाँ बस्ला पात, कहाँ हाँगा पलाउला
म तिम्रो गाँस हुँ, तिम्रो चैनको बास हुँ
म तिम्रो आश हुँ, तिमीभित्रको सुवास हुँ
चिन्यौ कि चिनिनौ, कि नचिनेझैँ गर्यौ
म तिम्रो संसार हुँ, तिमीभित्रको सास हुँ ।
नङ गए लुगाजस्तै फेरि आउला
हातै गए कहाँ बस्ला औँला, कहाँ नङ पलाउला ?
म हरियाली हुँ, म प्रकृति, कीट पतङ्ग हुँ
म सभ्यता, जिन्दगी जिउने एक ढङ्ग हुँ
चिन्यौ कि चिनिनौ, कि नचिनेझैँ गर्यौ
म तिम्रो जिन्दगीको अभिन्न अङ्ग हुँ
बाली मरे अर्को पाला फेरि लाउँला
माटै मरे कुन गर्भमा बस्ला बिउ, कहाँ बाली लगाउला !
म सहकार्य, म सहजीवन, म अखण्ड हुँ
तिमी छौ यति उद्दण्ड, म सभ्यताको सुगन्ध हुँ
चिन्यौ कि चिनिनौ, कि नचिनेझैँ गर्यौ
म हिमाल, रूख, नदी हुँ, म निलकण्ठ हुँ ।
बाटो गए बाटोबिना वनैवन हिँडुँला
धर्ती गए कहाँ रहला बाटो, कहाँ जीवन पाउँला !


