कृष्ण प्रधान
(मञ्जरी भिलेज, इमाडोल, ललितपुर)
म जस्तै
कस्तो चिसो चिसो हिमाल ।
मभित्र पनि
म बाहिर पनि
उस्तै चिसो हिमाल ।
हिमाल चढेर
हिमाललाई होच्यायौँ भन्नेहरु
तातो उक्ल्यौँ भन्नेहरु पनि
चिसै हिमाल बोकेर ओर्लन्छन्
तातो तातो अग्लो भएर
हिमालझैँ अग्लिँदै गर्दा
ती स्वयम् कति छिटै
चिसो चिसो हुन्छन्
पत्तै हुँदैन
कुनबेला पग्लन्छन्
स्वयम् तातो भएर ।
मभित्र पनि
हिमाल छ
अग्लो अग्लो
म बाहिर देखिने हिमालभन्दा पनि अग्लो
मेरो शिरभन्दा पनि अग्लो ।
त्यो
हिमालजस्तै अग्लिएर पनि
चिसो चिसो छ भित्रभित्रै ।
कहिलेकाहीँ
मानिसहरु मछेउ आउँछन्
र,
मेरो हिमाल छाम्छन्
धामीले नाडी छामेजस्तै
बिजुवाले जोखाना हेरेजस्तै
झाँक्रीले ढ्याङ्ग्रो ठटाएर
भुत तर्साएजस्तै,
मैमाथि खनिन्छन्
कहिले आगो भएर
कहिले आगोका पर्रा पर्रा उठेर
दुम्सीका काँढा भेद्छन्
बोक्सी डाम्छन् तातो पनिउका,
अहँ !
मभन्दा पनि अग्लो
मेरो हिमाल
न पग्लन्छ
न कहिल्यै झुक्छ
धामी बिजुवा र झाँक्रीका पर्राहरुले
उसको भेदन हुन्न,
त्यो स्वाभिमानको
छेदन हुन्न ।
उसको बलिदानले अग्लिएका
थुप्रै थुप्रै हिमालहरुभन्दा पनि
अग्लो
अग्लो !
जो कहिल्यै झुकेन
जो कहिल्यै झुक्दैन ।