सरिता बलामी

नेपाल हाम्रो संस्कृति राम्रो विश्व छन् चकित
यो मनोहारी प्रकृति अनेक कलाले रचित
सगरमाथा शिखर हाम्रो विश्वको उच्च शिर
देशको रक्षा गर्न तत्पर छन् नेपाली वीर

कञ्चनजङ्घा त्यो माछापुच्छ्रे  हिमाली छटाले
मोहित पार्छन् अतिथिलाई ताल र झरनाले
पाताले छाँगा, महेन्द्र गुफा शिवको मन्दिर
तालबाराही फेवा तालले पोखरा सुन्दर

दक्षिणकाली, पशुपति र जानकी मन्दिर
भक्तको घुइँचो हरबखत श्रद्धाले झुकेर
बसेका बुद्ध शान्ति दीप झल्काउँदै लुम्बिनी
मन्दिर, मस्जिद, चैत्य, गुम्बा एकता झल्किनी

ढोरपाटन, सौराहा अनि खप्तड निकुञ्ज
जैविक विविधताको पनि रहेको छ पुञ्ज
प्रकृति भन्छ आएर बस मसँग रमाऊ
जीव र जन्तु प्रकृति अनि संस्कृति जोेगाऊ

हनुमानढोका, भक्तपुर, पाटन दरबार
ऐतिहासिक कला कृतिले गरेर शृङ्गार
मोहित पारी अतिथि सारा ल्याउँछ डाकेर
प्रकृति पनि स्वागत गर्छ उमङ्ग भरेर

काखमा बस तिर्सना मेट भन्छिन् प्रकृति
आँखामा छवि हृदयभरि नेपाली संस्कृति
अनेक जाति, भाषा र भेष एकता साथमा
जन्मभूमिको लगाई टीका हिँड्छन् माथमा ।

अतिथिलाई देवता मान्ने छ हाम्रो संस्कार
अतिथि पनि आउँछन् फर्की आतिथ्य सम्झेर

Facebook Comments Box

Similar Posts