शकुन्तला जोशी

उँधै बगिजाने तमोरमा
थकानको लामो सुस्केरा छोडेर
बोक्सेको उकालो उकालिएका
एक हुल भरियाहरु
ढाकर बिसाउन त्यहीँ आइपुग्थे
पारि चौबिसेतिरबाट उभौली मान्न
माइती आएकी याक्थुम्बेनी साइली
कोसेलीको थुन्से बिसाउन त्यहीँ अडिन्थिन्
मुखिया भाजुलाई अस्पतालसम्म छोडेर फिरेको
सेखाली जेठा रित्तो ढाकर
त्यहीँ आएर बिसाउँथे
झिटीगुन्टा टिपेर मधेस बसाइँ झरेका
छिमेकी खड्किनी बज्यैलाई सम्झन
त्यहीँ आइपुग्छिन् भुजेल्नी भाउजू
स्कुल हिँडेका केटाकेटी
उकालैउकालो त्यही आइपुगेर सुस्ताउँथे
चढ्थे हाँगाभरि
र, तँछाडमछाड सैसला खेल्थे
हल्लाउँथे हाँगा, झार्थे भुइँभरि बर्रररर
भोकमा औधी मिठो हुने
वरका कटमेरा दानाहरु !
फर्केला कि कहिले त सम्झेर घर–
साउदीको भेडीगोठमै हराएको छोरो !
तमोरको अनन्त लहरतिर नियाल्न
यही आउँछिन् राइ देमा
धेरै वर्ष पो भइसकेछ जनयुद्ध रोकिएको
कहाँ बेपत्ता भइगए हुन् श्रीमान् आजसम्म !
हावामा हल्लिने रातो झन्डा
जङ्गलैजङ्गलको बाटो नियाल्न
घाम डुब्दै गर्दै यहीँ आउँछिन् कमरेड आभा
यसरी नित्य कोही न कोही
बिसौनी लाउन आउने
कि त पसिना–आँसु छोडिजाने
कि त खुसीले हाँगा हाँगा उफ्रिजाने
कि त प्रेमको चिनो उन्यु ढुङ्गाले थिचिजाने
त्यो घुमाउने चौतारो र ठुलो वरको बोट
कहाँ छ अहिले ?
त्यो मान्छेहरुको मात्रै बिसौनी थिएन
बथानका बथान कागहरुको घर थियो
हुलका हुल
लामपुच्छ्रे र कोटेराहरुको बास थियो
ढुकुर र जुरेलीहरुको प्रेमालय थियो
बाँदर र लोखर्केहरुको नाचघर थियो
हुचिल र गिद्धको कामासन थियो
मुनाल र सारसको बासस्थान थियो
आज कहाँ छन् ती कङ्कले कागका बथान ?
कता गए हुन्
बर्खा लाग्यो
तर किन बास्तैनन् ढुकुर र जुरेली ?
कहाँ गए गिद्धहरु ?
किन सुनिन्नन् हुचिलको सरसराहट रातमा ?
ती सबैको सातो अडिएको
त्यो घुमाउने चौतारो र ठुलो वरको बोट
कहाँ छ अहिले ?
वर मात्र वर थिएन
त्यसका जराहरु थिए
र, ढुङ्गा–माटाहरु बलियो भई अडिएका थिए
माटो अडिएको थियो र
मान्छे हिँड्ने बाटो अडिएको थियो
अजङ्गको फेरो थियो र
वरिपरि अडेसिने आड थियो
पर परसम्म फिँजारिएका हाँगाहरु थिए
र, ढुक्कले रात काट्ने बास थियो
बास थियो र मानिसहरुमा, चराहरुमा
भोलि हुने बिहानको आश थियो
यहीँ भेटिन्थे हुर्रा गाउँदै आउने धापा–धामीहरु
यहीँ मिसिन्थे
त्रिसाली मेला भर्न हिँडेका थाङ्देन–मेन्छ्याहरु
यहीँ भेटिन्थे सोरठी गाउने युवायुवतीहरु
त्यो वरको बोट मात्र एउटा रूख थिएन
त्यसको आयुसँग
आस्थाको धागो बेरिएको थियो
आशाका सपनाहरु अडिएका थिए
यो गोलो पिण्डमा
त्यो एउटा भूगोलको नाम थियो
बुढापाकाको सुदूर सम्झना टाँगिएको
एउटा नजिकको धाम थियो
लोग्ने पर्खिबसेका
लाहुरेनीहरुको मायाको नाम थियो
यसरी अनेक अनेक सपनाहरुको तान टाँगिने
त्यो घुमाउने चौतारो र वरको बोट
कहाँ छ अहिले ?
म चिनाउन चाहन्थेँ मेरी छोरीलाई
त्यो वरको बोट र
सँगै उभिएको पिपल चौतारी
म सुनाउन चाहन्थेँ उनलाई
त्यही उभिएर पुर्खाका कथाहरु
म बताउन चाहन्थेँ
त्यसकै फेदमा अडिएर
मानिस र रूखहरुको कथा
म देखाउन चाहन्थेँ उनलाई
चराहरु र मानिसको प्रेमकथा
विडम्बना !
कसले ढाल्यो त्यो वरको बोट ?
कसले उखेल्यो त्यसका जराहरु ?
अचेल त गाउँको अनुहार फेरिएछ
रूखहरु ढालेर बत्तीका तामझामहरु भरिएछ
फेदैबाट गिडिएछ शताब्दी आयुको वरको बोट
सँगै ढालिएछ पिपल र घुमाउने चौतारो
वरको बोटैमुनिको
रातो माटोको मट्केला पुरिएछ
बाजे बज्यैले हिँडेका पाइलाहरु मेटेर
डोजर हिँडिसकेछ
फराकिला बाटाहरुमा अब कहिल्यै अडिने छैनन्
मानिसका पाइलाका डोबहरु
भर्खर भर्खरै चुनिएका गाउँका मुखियाहरु
बासलात मिलाउँदै थिए
वरको हाँगा, छाती र जराहरुको
बर्खाको भेलले तीनपल्ट बगायो रे
बाटोमा हालेको बजेट
यसो त बाटोलाई थाम्ने
माटामुनिका जराहरु पनि त अब सुकिगए हुन्
यसपल्ट गाउँ जाँदा
सुनिएन चराहरुको गीत
देखिएन
वरको बोटमुनि आएर बाटो हेरिबस्ने लाहुरेनीहरु
भेटिएनन्
वरको रूखको कथा हाल्ने बुढापाकाहरु
गाउँसँगै फेरिएछ पानीका धाराहरु
जब ढल्दै गए वर र पिपलहरु
जब फाँडिँदै गए रूखहरु
सुक्दै गएछन् पानीका मूलहरु
मर्दै गएछन् जङ्गली फूलहरु
मर्दै गएछन् हाम्रो आफ्नै हाँगा र जराहरु
यसरी अनेक अनेक सपनाहरुको तान टाँगिने
त्यो घुमाउने चौतारो र वरको बोट
कहाँ छ अहिले ?

(याक्थुङ अर्थात् लिम्बु भाषामा तन्नेरी युवालाई थाङ्देन र तरूनी युवतीलाई मेन्छ्या भनिन्छ
रोल्पाली मगर भाषामा तन्नेरी युवायुवतीलाई धापा–धामी भनिन्छ )

 

Facebook Comments Box

Similar Posts