रमी प्रिया
ठेलमठेल कुदिरहेका प्रतिस्पर्धाको विचारलाई
कुनाको दराजमा थन्क्याएर एकैछिन
एउटा नयकका सम्भावना सर्च गरौँ ।
मोबाइलको स्क्रिनबाट निकालेर आफूलाई
खुला आकाशमा
बादलका ससाना थुम्काहरुलाई स्क्रोल गरौँ ।
र यी सहर, येँ यल ख्वप होस् वा
कुनै सुदूर गाउँ पुग्ने बाटोको बटन थिच्नुहोस् ।
यात्रामा –
चित्तभरि खचाखच भरिएको मेमोरी फाइल
टक्टकाउनुहोस् किनारमा
जहाँ बगिरहेको हुन्छ स्निग्ध नदी
अलिक पर हिमालहरु स्थिर होलान् –
मौनतामा डुब्नुहोस्
ताजा हुनुहोस् ।
प्रविधिको जन्जाल तोडेर
छोड्नुहोस् फुक्काफाल
प्रकृतिको काखमा आफूलाई
छेउका बुकी र सुनाखरी जस्तै मुस्कुराउनुहोस् ।
अलिकति अहम्लाई डिलिट गर्दै
अँगाल्नुहोस् बिल्कुल भिन्न संसारलाई
फर्किनुहोस् –
फरक सभ्यताको दुईचार क्लिक याद बोकेर
यान्त्रिक लयमा मिसिनुअघि
एकपल्ट मज्जाले जिउनुहोस् ।


