पुष्कर खड्का
(दक्षिणकाली, बाँसबारी)

देशकै ठुलो राष्ट्रिय झन्डा बनेर
आकाशको शिर छुन
राष्ट्रप्रेमको गर्जन बोकेर
डाँडामाथि इतिहास ठड्याउँदै
१०८ फिटे त्रिशूल उभिएको छ ।

आस्थाको अमिट पहिचान
श्रद्धा, शक्ति र विश्वास बोकेर
अमर प्रमाण बनेर उभिएको छ
लालीगुराँस फुल्ने गाउँ
सधेँ वसन्त बोके झैँ लाग्छ
फुल्चोकीकाट झुल्केको पहिलो घामसँगै
आँखा जुधाएर बसेको छ
सल्लाको सुस्केरा हरेक बिहान
शान्तिको धुन बोकी सुसाउँछ
थाकेका मन र आत्मालाई
हलुका बनाएर मुस्काउँछ
सात मूल पानीको स्वच्छ मुहान
प्रकृतिको अनुपम वरदान
शीतल छन् धाराबाट झरेका पानी
पिउँदा सबै थकान बिर्साउँछ ।

रामसीताको मन्दिरले मर्यादा बोकेको छ
नागेश्वरले संस्कृतिको आस्था बोकेको छ
ढुङ्गा ढुङ्गामा देवत्व झल्केको छ
एकै छिनको बसाइमा मन मौन भइदिन्छ
एसियाकै दोस्रो जलविद्युत् गृह
परिश्रम र प्रगति बोकेर बाँचेको छ
प्रकृति र विकास हातेमालो गरेर
अनुपम उदाहरण बनेको छ
धर्म, प्रकृति र राष्ट्रगाथालाई
एकै स्वरमा गुन्जाएर
दक्षिणकालीको सान बनेर
उज्यालो पर्यटनको गन्तव्य बनी
हात्तीवन उठाएर मेरो बाँसबारी
सबैको दृश्यमा विराजमान छ ।

Facebook Comments Box

Similar Posts