सूर्यकुमार पण्डित
(१५ अक्षरको मालिनी छन्द ।।। ।।। ऽऽऽ ।ऽऽ ।ऽऽ)
दिनपछि फिरि आई रातकी अन्धकारी ।
कलुषित मन पारी ज्ञानकी धुन्धुकारी ।।
जब जब हुन थाल्यो छिप्पिँदो मोहरात्रि ।
धुम अधुम निशामा कल्पने चित्तवृत्ति ।।१।।
खुससित सुर खुल्ने रात्रि नै सिर्जना हो ।
तनभरि मन ढुक्ने रात्रिकी तिर्सना त्यो ।।
दिनभर गगनैमा सूर्यको ज्योति झल्क्यो ।
झिलिमिलि बिजुली पो रातमा इन्दु चम्क्यो ।।२।।
अधिक चुक अँध्यारो रातमा देखिँदैन ।
सकल भुवन हेर्दा दृष्टिले भेटिँदैन ।।
अबुझ सठ मिलेमा मित्रता कालरात्रि ।
विरहसित रूँदै छे मित्रताकी सुयात्री ।।३।।
अनवरत हुँदै गो पूर्णिमा जान्छ औँसी ।
लय प्रलय हुँदामा हुन्छ रे पूर्ण औँसी ।।
पहिरन सब छोपी रात्रिमा जान्छ यात्री ।
दिन चउर निशामा प्रेममा हुन्न रात्रि ।।४।।
मनभरि भरिएका खुल्दुली पोख्छु भन्छे ।
पृयतम तन पुग्दा पल्लवी ढाकी दिन्छे ।।
मन मन मन बोल्दा शब्दको अर्थ छैन ।
नव नव ऋतु फुल्ने भावले त्यो छुँदैन ।।५।।
सगुन समय तृष्ण मेटियो सल्बलायी ।
पवनसहित वर्षा वर्षिया कल्कलायी ।।
ढकमक हुन थाल्यो रात्रिको साथ गाथ ।
मगमग छ जवानी चम्कँदो भाग्य माथ ।।६।।