राममणि सिटौला

कठै !
जित्दाजित्दै हारेका
ती पराजित विजेताहरु !
जसले उजाड पारे
सृष्टिको प्रथम गीत गाउने
पक्षीका गुँड
जसले विकल बचेरालाई
गुँडभित्रै कुहिएर मर्न बाध्य पारे ।

कठै! ती विजेताहरु !
जसका घोडचढीले
सखाप पारे फूलबारी
ईश्वरलाई प्रसन्न पार्न
चुँडे बगैँचाका सारा फूल
कुल्चिएर मारे
पुतली बनेर उड्न तयार
लार्भाहरु !

कठै ! ती विजेताहरु
जसलाई प्रिय थियो
क्रन्दन र चित्कार
जसलाई प्रिय थियो
अरुको खुसी हाँसोलाई
व्यञ्जन बनाएर नास्ता गर्ने ।

कठै ! ती विजेताहरु !
जसले बाँडे
आमाका दुधका रङ
जसले निर्माण गरे
पाठशालाको सट्टा
अणु परमाणुका कारखाना ।

केको विजेता तिनीहरु !
तिनीहरु थिए
साँचा विजेता
जसले दिए धर्तीलाई
बहुमूल्य सौगात
बनाए कुलो नहर
जोते बाँझो जमिन
उब्जाए कपास
जलाए अँध्यारो बस्तीमा
चेतनाका मसाल
बालकका निम्ति
बनाएर झुनझुन बाजा
सुन्दर लोरी रचे
भाइचाराका गीत गाए ।

कठै ! तिनीहरु
केको विजेता !
जसले सुनेन
आमाको चित्कार
जसले लुटे
धर्तीको हरितिमा !
कठै ! ती रङहीनहरु !!

Facebook Comments Box

Similar Posts