साहित्य भट्टराई
(सूर्योदय ७, कन्याम, इलाम)
म रातो टीकामा रमाउँदा
उनी रातो रगतमा लतपत छिन्
म चैनआरामले कोठामा बस्दा
उनी छाउगोठमा छट्पट छिन्
म अगेनोमा आगो ताप्दा
उनी चुलाचौकाबाट वञ्चित छिन्
म नयाँ वस्त्रमा सजिँदा
उनी पीडामा भत्भत छिन् ।
म उनको सामानझैँ व्यापार गर्छु
उनी दिनदिनै हराइरहेकी छिन्
म उनको शरीर चाहन्छु
उनी घरबाहिर निक्लिन डराइरहेकी छिन्
म उनको अस्तित्व लुट्छु
उनी बलात्कृत घाउ चराइरहेकी छिन्
म संविधानका पाना बन्द गर्दिन्छु
उनी न्यायको लागि कराइरहेकी छिन् ।
मलाई छोरा चाहिएको छ छोरी होइन,
छोरीलाई भ्रूणमै मार्नुपर्छ
म विद्वान् छु सायद
मेरो सृष्टि हुन पनि छोरी नै चाहिनुपर्छ
मलाई माया गर्न श्रीमती होइन
दाइजो अनिवार्य हुनुपर्छ
मलाई दाइजो नै नपुग्दा
श्रीमती बेस्सरी कुट्नुपर्छ ।
अनि कोही यस्तो म
म बुझ्छु नारी छन् त केवल सृष्टि जगत् छ
नारीको अस्तित्व जोगाउनुपर्छ
म उसको बुबा हुँ
छोरीलाई वञ्चित नगराई
हरेक कुरामा अगाडि बढाउनुपर्छ
म उसको दाइ हुँ
बहिनीको रक्षक बनी
उसको रेखदेख गर्नुपर्छ
म उसको भाइ हुँ
दिदीको मायाको स्रोत बनी
भरपुर माया दिनुपर्छ
म उसको प्रेमी हुँ
जीवनभरको लागि
उसको भरोसा र प्रेमको स्तम्भ बन्नुपर्छ ।