सीतादेवी छेत्री
(कङ्ग्लातोङ्बी, मणिपुर, भारत)

कहिले भुइँचालो ओर्लिएर
कहिले बादल बौलाएर
कहिले मुसलधार बर्सात
कहिले हुरीबतास
प्रदूषण फैलिएको छ आजभोलि
मदानी हुँडलहाँडल पारेर
हुँडलेको छ आज
नचाइरहेछ थरी थरीले
छटपटाइमा पारी पारी
नौनी तताएर
निकालेको घिउ आज
विशाल हवन कुण्डमा
मानमर्यादाको हवन गराई
विसर्जन गर्ने तरखरमा
देखिन्छन् आजभोलि
भावनाको गोरेटोमा
आफ्नो लक्ष्यमा सुस्त सुस्त
प्रदूषित गराइरहेछ ।
मदानीको हुँडलहाँडलले
ज्वालामुखी फुट्ने सम्भावनाले
जम्मै त्रासमा छन् आजभोलि ।

Facebook Comments Box

Similar Posts