काजरी धनञ्जय
सेप्टेम्बर ८ अन्तर्राष्ट्रिय साक्षरता दिवस । युवाहरुले भ्रष्टाचार र सूचनाको हक सम्बन्धमा विरोध र्याली निकाल्ने निधो गरे । युवाहरुको जमात जम्मा भएपछि एक जना युवाले निश्चित आचारसंहिता सुनाए, ‘अब र्याली सुरू गरौँ ।’
नाराबाजीसहित विरोध र्याली सुरू भयो । दश हजारको सङ्ख्यामा युवा पुस्ता थिए । ६ लेनको सडकको ४ लेन कब्जा गरी नाराबाजीसँगै युवा अगाडि बढे । विरोध र्याली शान्तिपूर्ण र अनुशासित तबरबाट सञ्चालित हुँदै थियो । र्याली अगाडि बढ्दै जाँदा निषेधित क्षेत्र नजिक पुग्यो । शान्तिपूर्ण नाराबाजी हुँदै थियो । देशमा भएको ढिलासुस्ती र भ्रष्टाचारका विरूद्धमा युवाको ध्यानाकर्षण गर्ने कार्य जारी थियो । अचानक कानै खाने गरी बुलेटको आवाज आयो । १०/१५ ओटा बुलेटको लाइन थियो । नाराबाजी बन्द भयो । र्यालीमा सहभागी छेउ लागे । बुलेटले गति बढायो । निषेधित क्षेत्रका बारहरु उडाएर बुलेट निषेधित क्षेत्रमा प्रवेश गर्यो । कोही कराए, ‘अघि बढौँ ।’
हुल अगाडि बढ्यो । अनुशासित जमात हुलमा परिणत भयो । विरोध र्याली आन्दोलनमा परिवर्तन भयो । निषेधित क्षेत्रका बारहरु भत्किए । कोही आन्दोलनकारी बार चढ्दै थिए । कोही रेलिङ भाँच्दै थिए । कोही तमासा हेर्दै थिए । एक समूहमा फुसफुसाहट भयो, ‘ए ! मन्त्रीज्यूले एक्सनमा आउन भन्नुभयो ।’
त्यो जमात अझ अगाडि बढ्यो । त्यै कुरा अर्को युवा जमातले सुन्यो र भन्यो, ‘हैट ! अब यहाँ नबसौँ । जे पनि हुन सक्छ ।’
अचानक बुलेटका छर्रा छुटे । एक्कासि टाई र झोलामा सजिएका युवाको चिच्चाहट सुरू भयो । सबै एक एक गरी ढले ।


