सुरेश काफ्ले ‘बिदारक’
आरामका लागि केही दिनको छुट्टी मिलाएर घर गएको थिएँ । यही अवसरमा श्रीमती ममताले उपचारका लागि अस्पताल जान अनुरोध गरिन् ।
‘तिमी भनेको मान्दैनौँ । रजस्वला हुँदाँ दैनिक नुहाउनु, सफा रहनु, भारी काम नगर्नु, खाना र स्वास्थ्यमा ध्यान दिनु । सेतो पानी बग्नु, तल्लो पेट दुख्नु नेपाली महिलाको पहिचान नै भयो ।’ मैले गुनासो गरेँ ।
आइतवारको दिन थियो । अघिल्लो दिन शनिवार परेकोले ओ.पि.डी.मा बिरामीको निकै भिड थियो । हामी प्रेक्षालयमा पालो पर्खिरहेका थियौँ । उनको छेउमा एउटी त्यस्तै १६/२० कि युवती बसिरहेकी थिइन् ।
‘केही होइन । मेरो सानो समस्या छ ।’ मेरी श्रीमतीले उनको समस्या बुझ्न चाहँदा भनिन् ।
‘के सानो समस्या हो ? बाँड्न मिल्दैन ?’ मेरी श्रीमती प्रस्ट हुन खोजिन् । उनी अन्कनाइन् । उनलाई कतै देखे जस्तो लागेर सोधिन्, ‘तपाईंको घर ?’
‘धरान ।’ शङ्का नजिक हुँदै गयो ।
‘तपाईं गर्भवती हुनुहुन्छ जस्तो लाग्यो ?’ मेरी श्रीमतीको सोधाइमा उनले समर्थन जनाइन् ।
‘यस्तो बेला तपाईं किन एक्लै ? कि अरु कोही छन् ?’ मेरी श्रीमतीको प्रश्नवर्षा जारी थियो ।
‘कोही छैन । अनजान मान्छेलाई विश्वास गरेँ । त्यसैको परिणाम भोग्दै छु ।’ उनी केही खुलिन् ।
‘के भो र ? अँ… तपाईंहरुलाई हामीले भ्यालेन्टाइन डेका दिन हरियाली पार्कमा भेटेका थियौँ । होइन ?’ मेरी श्रीमतीको अनुमानले उनलाई किनारामा लगेर पछार्यो ।
‘हो.., त्यही दिनको त परिणाम हो यो ।’ उनी घनिष्ट भइसकेकी थिइन् । शङ्का सही निस्कियो । उनी पश्चात्ताप गर्दै थिइन् ।
‘पेट भएको खबर उनलाई गरेँ । त्यसपछि त त्यो मान्छेको अत्तोपत्तो छैन । त्यसैले यो नासो राख्नु उचित लागेन ।’
पालो आएको जानकारी पाएपछि हामीभित्र पस्यौँ । उनी भित्रभित्रै निकै रूँदै थिइन् ।