म्यामराज राई
(हतुवागढी ६, होम्ताङ, भोजपुर, हाल: जापान)
प्रशान्त महासागर चुपचाप बसिरहेथ्यो । त्यसको बिच भागमा शान्तिवाटिका बनेको थियो । मानौँ, गौतम बुद्धको भूमि हो । चारै दिशामा प्रशस्त मनोरम दृश्य हेर्न मिल्थ्यो । सुन्दर दृश्यावलोकन स्थल बन्यो । हरेक दिन हजारौँको सङ्ख्यामा बाह्य तथा आन्तरिक पर्यटक झुम्मिन्थे । सहरको कोलाहलबाट बच्न तथा जागिरे जीवनको तनाव कम गर्दै पारिवारिक माहोलमा खुसी साट्न पुग्थे । कोण कोणबाट फोटो खिच्नेहरु थिए । आआफू खिच्थे । एकअर्काको खिच्थे । ती सबै सामाजिक सञ्जालमा प्रयोग भइरहेथे । मनु र धनु पनि छिल्लिँदै पालैपालो तथा सामूहिक रुपमा टिकटक बनाउन व्यस्त थिए । आँखाले प्राकृतिक दृश्य कैद गर्नुभन्दा पनि उनीहरु मोबाइलकै सहारा लिइरहेका थिए । पर्याप्त टिकटक बनाइसकेपछि उनीहरु फोटो लिनतिर लागे ।
‘खिच्दे त ।’ धनुले आफ्नो मोबाइल मनुतिर तेर्साइन् ।
‘पहिले मेरो ।’ मनुले अघि नै मोबाइल तेर्साइसकेकी थिइन् ।
शान्तिवाटिकाले मुसुमुसु मुस्कुराउँदै बोल्यो, ‘पालैपालो खिच्दा पनि त भयो ।’
‘चुप लाग, अघि त्यत्रो टिकटक खिचिदिएँ ।’ धनुले उग्र स्वर ओकलिन् ।
‘ए, बाबा ! एउटा खिच्दे न मेरो । त्यसपछि तँलाई अघाउन्जेल खिचिदिउँला ।’ मनु पनि हार्न मानिनन् ।
अब दुवैले बुद्धको भूमिमा पाण्डव र कौरवको महाभारत सिर्जना गरिछाडे । अचानक दुवैको हातबाट दुवैको आइफोन चिप्लियो । महासागरले पानीसरह दुईओटैलाई एकै घुट्कोमा निलिदियो ।