लक्ष्मण ज्ञवाली
(तिलोत्तमा १, नीलगिरिपथ, शंकरनगर, रूपन्देही)
‘सधैँ बिहानैदेखि चहलपहल हुने यो गाउँ आज किन चकमन्न छ हँ ?’
उपल्लो गाँउबाट झरेको विश्वासले जान्न चाह्यो तर त्यहाँ उपस्थित कसैले जवाफ फर्काएनन् ।
‘पक्कै केही भयो कि ?’ उसले लख काट्यो ।
टाउको समाएर आँगनको डिलमा बसिरहेका वृद्ध किसान बुबालाई उसले फेरि सोध्यो ।
बुढाबाले विगत सम्झिँदै मुख खोले, ‘लोकले बखान गरेको गणतन्त्र नामको मुर्रा भैँसी बडो दुःखजिलो गरेर हुर्काएँ, बाली लाग्यो, ब्यायो पनि । बडो दुधालु निस्क्यो । मेहनतले खुराक खुवाउँदै पालेँतालेँ, छरछिमेकलाई समेत दुधको स्वाद चखाएँ ।’
‘अनि के भयो त बुबा ?’
‘के हुनु नि, एकाबिहानै गोठमा हेर्छु त, सबै बस्तुभाउ त्यहीँ छन्, गणतन्त्र नामको मुर्रा गायब !’
‘अनि खोज्न जानु भएन त ?’
‘किन नजानु नि, धुइँपत्ताल लाएर खोजेँ, भेट्टाएँ पनि ।’
‘कसले लगेको रहेछ त ?’
‘त्यही लाठीवालाले दरबार पो पुर्याइसकेको रहेछ ।’
‘अनि फिर्ता ल्याउनुभएन त ?’
‘कसरी ल्याउनु ? यो त मैले बाटोमा भेटाएर ल्याएको मेरै हो भन्छ डाँकाले !’
‘यो त घोर अन्याय भएन र बुबा ?’
विश्वासले मुट्ठी कस्यो ।
चिन्ता मिश्रित भावमा बुबाको भनाइ आयो, ‘अन्याय त भयो नि बाबु, क्यारम् र म बुढो मान्छे ? ‘निसाफ’ गर्ने लाठी उसैसँग छ ।’


