विपेन आदिमा
(सिन्धुपाल्चोक)

फूलहरु सुरक्षित छैनन् यहाँ, न सुवास सुरक्षित छ
जूनहरु सुरक्षित छैनन् यहाँ, न आकाश सुरक्षित छ
पेटभित्रै मारिन्छन् शिशु, न आमाको काख सुरक्षित छ

यहाँ मौमिताहरु सुरक्षित छैनन्, छैनन् सुरक्षित् ममताहरु
बिरामीहरु सुरक्षित छैनन् यहाँ, छैनन् सुरक्षित डाक्टरहरु
विद्यार्थीहरु सुरक्षित छैनन् यहाँ, छैनन् सुरक्षित मास्टरहरु

मुटुहरु सुरक्षित छैनन् यहाँ, न माटो सुरक्षित छ
गन्तव्य सुरक्षित छैन यहाँ, न बाटो सुरक्षित छ
हिउँहरु सुरक्षित छैनन् यहाँ, न हिमाल सुरक्षित छ
पानीहरु सुरक्षित छैनन् यहाँं, न कुनै ताल सुरक्षित छ

म आफ्नै छायादेखि डराउन थालेको छु
म आफ्नै मायादेखि डराउन थालेको छु
चाहिँदैन यो डरैडरको जिन्दगी
म आफ्नो प्राण आहुती दिन तयार छु

तर बदलामा,
सारा उत्पीडनबाट उन्मुक्त समाज चाहिन्छ
सारा बन्धनहरुबाट स्वतन्त्र समाज चाहिन्छ
सुरक्षा र सहभावको सम्बन्ध चाहिन्छ
मेरो अस्तित्वको मूल्य जीवन्त चाहिन्छ ।

Facebook Comments Box

Similar Posts