अरूणकुमार भुजेल
(गोरूबथान, कालेबुङ)
रूखो वचन र व्यवहारले
कहिल्यै कसैको मन छुन्न
नरम स्वभाव र धैर्यभन्दा
परोपकारी कुरा अरु केही हुन्न ।
कडा फलाम जब नरम हुन्छ
तब नै विभिन्न हतियार बन्छ
जब जलेर सुन नरम हुन्छ
अनि सुन्दर सुन्दर गहना बन्छ ।
हजारौँ चोट सहेपछि ढुङ्गा
मूर्ति बनेर मन्दिरभित्र पुग्छ
बाटोमा हुँदा कुल्चँदै हिँड्ने
शिर झुकाएर ढोग्न पुग्छ ।
जन्मसँगै आएको जिब्रो हेर
नरम भएरै मृत्युसम्म रहन्छ
उता कठोर दाँतहरु भने
उमेर छँदै नै झरेर जान्छ ।
पिर त कसलाई पो पर्दैन र
श्रीकृष्णको जीवनी पढे हुन्छ
रामचन्द्रको वनवासको कथाले
हामी सबैको मन मुटु छुन्छ ।
दम्भी, अन्यायी र दुराचारीहरु
कुना पसेर मुख छोपी रून्छ
रावणजस्तो अहङ्कारी भए
राज्यसँगै कुलको नास हुन्छ ।
पुर्खाको अर्ति र उपदेश सुन्नु
नैतिक शिक्षा सधैँ मनमा गुन्नु
प्रयोगमा नआउने चुन्दै नचुन्नु
आवश्यक कुरा जतनले तुन्नु ।
कुरा बुझेमा आफैलाई राम्रो
नहुनु कसैले दाँतजस्तै चाम्रो
सधैँ नम्र र सहनशील भएमा
जिन्दगानी सुन्दर बन्दछ हाम्रो ।


