विनोद नेपाल

सहरको कोलाहलभन्दा पर,
जब पुगेँ कविता खोज्दै गाउँ
उजाड बस्तीहरु बोले
बिरायौ कि बाटो ?
अलमलियो कि यात्रा ?

लाग्यो,
बिर्सेछ आफ्नै गाउँले ।

नबिर्सोस् पनि किन
अँध्यारोमा राखेर उसलाई
आफू उज्यालो खोज्ने,
अभावमा अल्मल्याएर उसलाई
आफू सम्पन्नताको बाटो रोज्ने,
भुलेर आफ्नो धरातल
आडम्बरको खोल ओढ्ने,
सभ्यताको नाममा
आफ्नै संस्कृति र परम्परा भुल्ने,
आधुनिकताको नाममा
आफ्नै पहिचान दाउमा राखेर
पराइको अपनाउने,
आखिर माटोलाई बिर्सने स्वार्थी न हुँ म !

कति सहनशील छ मेरो गाउँ
गर्दैन दण्डित तैपनि
भकुर्दैन कठालो समाएर
लघार्दैन लाठो लिएर
मात्र प्रश्न गर्छ –
लाज लाग्दैन गाउँ बिर्सेर गाउँको कविता लेख्न ?
र म नजबाफ, शिर निहुराउँछु ।

Facebook Comments Box

Similar Posts