सुनिता निरौला पौडेल

‘यसलाई त आज म छोड्दिनँ !’ हरिप्रसाद उफ्रेर श्रीमतीमाथि जाइलागे ।
‘ऐया नि ! मरेँ बाबा …’ कोठाभित्रबाट रमलाको चिच्याहट सुनियो ।
पल्लो कोठामा आमा र भाइ दुवै जनाले त्यो दृश्य रमिताझैँ हेरिरहेका थिए ।
‘मैले के गल्ती गरेकी थिएँ र ? बिहान उठेदेखि घरको सारा काम गरेकै छु । छोराछोरीलाई तयार पारेर स्कुल पठाउनेदेखि फुर्सदको बेला सबैको लुगा धुने कामसम्म गरेकी छु तर पनि किन यस्तो ?’ उनले पतितिर प्रश्न तेस्र्याइन् ।
‘अझै मुखमुखै लाग्छेस् ? खै, मटितेल कता छ ? आज त यसलाई आगो लगाइदिन्छु !’ हरिप्रसादको आक्रोश झन् बढ्यो । रमलाको घरमा झगडा नयाँ थिएन तर उनले आफ्ना पीडा कहिल्यै कसैसँग पोखिनन् । एक दिन त अवश्य सबै ठिक होला भन्ने आशामै बाँचेकी थिइन् ।
‘सबैका घरमा बुढाबुढीको झगडा हुन्छ भन्छन् तर मटितेल खन्याएर आगो लगाउनेसम्मको हर्कत… ?’ आँखा रसिला पारेर उनले हरिप्रसादतिर हेरिन् ।
त्यसै बेला बैठककोठामा सबै परिवार भेला भए । भाइले श्रीस्वस्थानी परमेश्वरीको किताब खोले । वरिपरि सबैले फूल र अबिर हातमा लिएर कथा सुन्न थाले ।
कथाकै बिच रमलाले पतितिर हेर्दै भनिन्, ‘महादेवले त पत्नी सतीदेवीलाई ‘प्राणप्यारी’ भन्दै, मरेको लास काँधमा बोकेर सारा ब्रह्माण्ड डुल्नुभयो । ‘हा सति… हा सति…’ भन्दै एक पल छाड्न सक्नुभएन ।’ परिवार जिल्ल पर्यो ।
रमलाले फेरि बोलिन्, ‘म पनि त उही सतीदेवीझैँ हजुरकी पत्नी हुँ तर यहाँ त जिउँदै जलाउने तयारी हुँदै छ । के महादेवको कथा सुन्ने कानले आफ्नै घरको चिच्याहट सुन्न सक्दैन ?’

Facebook Comments Box

Similar Posts