मुकुन्द पोखरेल
कुमालकोटी किरा जातीय
श्यामसुन्दर जीव हो ।
यो अरु वंशीय किरा लैजान्छ
शल्यक्रिया, अङ्ग प्रत्यारोपण
गर्छ कि सर्जनजस्तै ?
आन्तरिक उपचार गर्छ कि
फिजिसियनजस्तै ?
मनोवैज्ञानिकजस्तै
शिक्षा–दीक्षा दिन्छ कि ?
डरत्रास देखाउँदै, शारीरिक रुपान्तरण,
मानसिक परिवर्तन गराउँछ कि ?
यो कस्तो चिकित्सक हो ?
यसको आवासीय भवनको
पर्या, शैलीविज्ञान हेर्दा
त्यत्तिकै कलात्मक मात्र छैन
यो अभियन्ता जस्तो पनि छ
शल्यक्रिया, उपचार–कक्ष छन् भने
कस्ता यन्त्र जडित होलान् ?
माकुरा लैजान्छ कुमालकोटी
बनाउँदै ल्याउँछ
अरुका गुरू दत्तात्रय
दत्तात्रयका चौबिसमध्ये
एउटा गुरू यो कुमालकोटी
कस्तो चिकित्सक हो ?


