रामेश्वर जलन
(बुद्धमति २२, काठमाडौँ)
युगीन पुरानो
घरबुन्ने कपडामा निर्मित
नेपालको झन्डा अङ्कित
सादा कपडाको झोला बोकेर
लुरूरू–लुरूरू यात्रामा छ कविजी
कविको झोलामा
एक थान पुरानो डायरी, डट्पेन
राष्ट्र, राष्ट्रियता र स्वाभिमान भेटिन्छ
आफू पनि बाँचौँ, अरुलाई पनि बचाऔँ
प्रस्ट देखिन्छ
स्वपहिचान, जन्मभूमिको माया
सद्भाव, समाज कल्याणको छाया
आस्था र विश्वासको शिखर यात्रा
तन्मय, मन्मयसाथ हिँडिरहन्छ
कविजी सामाजिक
सांस्कृतिक राजनीतिक गौप्राणी
सभ्यता, संस्कारको उद्घोष गर्ने उनको वाणी
यस अर्थमा,
ऊ राजनीतिबाट पनि टाढा छैन
दूषित राजनीतिबाट पनि गाढा छैन
आज उनको हार्दिक आह्वान
राष्ट्र, राष्ट्रियता र स्वाभिमानको सम्मान हो ।
स्वार्थको दलदलमा
वैयक्तिक मतलबमा
कदापि भाँसिन चाहँदैन
यसर्थ,
उसको झोलाको अग्र भागमा लेखिएको छ
अखण्ड नेपाल, स्वतन्त्र नेपालीको चाहना
शान्ति, सदिच्छा, उदारताको हार्दिक कामना ।


