दीपक लोहनी
(कुरिलोघर, काठमाडौँ)
आँखाहरु भन्छन् –
जति नै हेरे पनि नसकिने रै’छ यो संसार ।
यी हिमाल
यी पहाड
यी झरना
निरन्तर बगिरहने यी रहस्यमयी नदीनालाहरु
र, सुतेको शान्त समुद्र
जति नै पिए पनि झन् बढ्दोरहेछ प्यास ।
मस्तिष्क भन्छ –
जति नै पढे पनि नसकिने रै’छ यो संसार ।
यी बस्ती,
यी धरोहर,
यी जीवित कला/यी अमूर्त कृति
भाषा, भेष, संस्कार र संस्कृतिका यी अनन्त फैलावट
अनि सभ्यताका अनेक कालखण्डहरु
जति नै पढे पनि नभरिँदो रै’छ ज्ञानको तृप्ति ।
पाइलाहरु भन्छन् –
जति नै हिँडे पनि नभेटिँदो रै’छ
यो सानो संसार ।


