दीपक समीर
(श्रोतालय, काठमाडौँ)
सानो छँदा
घरबाट निस्कने बेला
आमा सधैँ मलाई कालो टिका लगाइदिनुहुन्थ्यो
कारण आज बुुझ्दै छु
मेरी आमालाई पहिल्यै थाहा रै’छ –
बैरीको आँखा
सबैभन्दा पहिला मेरो निधारमै पर्छ भनेर ।
अलि ठुलो भएपछि
बा हरेक दिन भन्नुहुन्थ्यो
‘निधार पुछ्ने ? माल बोक्न कहिल्यै नबिर्सनू ।’
त्यसको पनि कारण आज बुुझ्दै छु
मेरा बालाई उतिबेलै थाहा रै’छ –
यो दुनियालाई मेरो पसिना पच्दैन भनेर ।
कहिलेकाहीँ बाआमा सँगै बसेर भन्थे
‘कान्छा, दुनियाको अगाडि आँसु कहिले नझारेस्’
तर आज माथि फर्केर
दुवैलाई सोध्न मन छ –
‘भैगो त, दुनियाँको अगाडि नझारौँला
एक्लै हुँदा त पाइन्छ नि ?’
कहिलेकाहीँ लाग्छ,
यो संसारकै
सबैभन्दा अभागी प्राणी मान्छे हो
जसको,
आफ्नै आँसुमा आफ्नो अधिकार हुँदैन
निर्दोष पसिना समाजलाई स्वीकार हुँदैन ।


