सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’
(धुम्बाराही, काठमाडौँ)

तिमी
मेरो ठाउँमा आउँदा
तिमीसँगै धेरै कुरा आउँछन्
तिम्रो संस्कार
तिम्रो व्यवहार
तिम्रो अनुभव र अनुभूति
अनि केही रकम पनि
जुन मेरा लागि
मार्गदर्शन बन्न सक्छ ।

जुन पृथ्वीमा म छु
त्यही पृथ्वीमा तिमी पनि छौ
भौगोलिक विविधताअनुसार
तिमीसँग केही होलान्
मसँग पनि केही छन्
तिमीसँग समुद्र होला
मसँग हिमाल छ, पहाड छ र तराई छ
प्राकृतिक ताल, तलैया र झरना छ
विभिन्न मठ, मन्दिर र गुम्बा छ ।

नाम त सुनेकै होलाऊ तेन्जिङको
बुद्ध, सीता, भृकुटी र अरनिकोको
हो, म तिनीहरुकै सन्तति हुँ
स्वतन्त्र र सार्वभौम राष्ट्रको
तर अब तिमीहरुले
अरुलाई पनि चिन्नुपर्छ
मेरो देशका वीर योद्धा र सहिदहरु
कवि, लेखक तथा कलाकारहरु ।

अब नयाँ ढङ्गबाट, नयाँ रङ्गबाट
धार्मिक, सांस्कृतिक र सामाजिक
शैक्षिक, आर्थिक र पर्यटनमा
अब जोडिनुपर्छ
हाम्रा सम्बन्ध र नाताहरु
र, बन्नुपर्छ
देशको मूलमन्त्र
अतिथि देवो भवः
अतिथि देवो भवः ।

Facebook Comments Box

Similar Posts