आर.एम. डङ्गोल
घरभित्र
आफूलाई ओत लगाएर
सखारै अघि लाग्छौँ
र, दिनलाई पछ्याउँदै
रातमा भेटिन्छौँ एक आपसमा
घरबाहिर छन्
आडभरोसाका हाँगा–जरा फैलाएर उभिएका
रूख बुट्यानहरु
हाम्रै गति पछ्याएर
सिङ्गो ग्रह परिक्रमा गरिरहेका
नदीनालाहरु
हाम्रै वरिपरि छन्
गहिरो दुःख बोकेर
हाम्रै लागि परदेसिएका
सागर महासागरहरु
हामीसँगै छन्
हाम्रै खबर बोकेर
गाउँबस्ती डुलिहिँड्ने
हावाहुरी बतासहरु
हाम्रै साथमा छन्
हाम्रै जीवनका
गीत गाइरहेका छन्
अनाम पशुपक्षी, कीटपतङ्गहरु
घरबाहिर छन्
यति भव्य समारोह
उता घरभित्रै बेवारिस छन्
घामको रङ
पानीको आद्र्रता
जूनको शीतलता
हावाको स्पर्श
माटोको सुगन्ध
यसरी
असहाय, निरूपाय, निरूत्तर
एक्लो हुँदै गइरहेका मान्छेलाई
घरबाहिरबाट रूँगिरहेको छ बुढो पृथ्वी
कसैको साथ नपाएर
पृथ्वी पनि
नितान्त एक्लो छ ।


